रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा पाँचौँ शिद्ध गुफा गोल्ड कप सुरु भएको छ । मङ्गलवार दिउँसो एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । मुसिकोट नगरपालिका १ को सल्ले यूथ क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न ठाउँका गरी २९ वटा समूहले भाग लिएको आयोजकले जनाएको छ । प्रतियोगिता सेभन ए साइडमा सञ्चालन हुने आयोजक सल्ले यूथ क्लबका अध्यक्ष भागिराम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार बराहटाकुराको मैदान सानो भएकोले एक टिममा ७ जना खेलाडी राखेर खेल सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुर्याउने बताउनुभयो । मुसिकोटमा पर्याप्त खेल मैदान छैनन्, यही मैदानमा भए पनि यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास छ, उहाँले भन्नुभयाे । साथै उहाँले मुसिकोट नगरपालिकाले यो वर्षदेखि नगर कप र राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने जानकारी दिनुभयो । प्रतियोगिता ४ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको विजेताले ६० हजार ९ सय ९९ र उपविजेताले ३० हजार ९ सय ९९ रुपैयाँ र ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट उदयमान खेलाडी र फेयर प्ले अवार्ड गरी व्यक्तिगत इभेन्टमा पनि पुरस्कृत गरिने छ ।