रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको कालिका मन्दिरलाई चिटिक्क पारिएको छ । बडा दसैँलाई लक्षित गरेर मन्दिरलाई रङ रोगन र सरसफाइ गरेर चिटिक्क पारिएको हो । त्यस्तै मन्दिरको वरिपरि ग्रिल राख्ने, ढुङ्गा विच्छ्याउने, पर्खालमा पलस्टर गर्ने लगायतका काम समेत जारी छन् । दसैँ सुरु भएपछि मन्दिरलाई सिँगार्ने काम भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार वडा र नगरको बजेटबाट मन्दिरमा काम भइरहेको छ ।
रङ्ग रोगनको काम वडाको बजेटबाट भएको हो भने अन्य संरचना निर्माणको काम नगरको पर्यटन पूर्वाधार शीर्षकको बजेटबाट भइरहेको छ । यसका लागि नगरको १ लाख बजेट रहेको वडाध्यक्ष चन्दले जानकारी गराउनुभयो । रङ रोगनका लागि भने आवश्यकता अनुसार वडाले खर्च बेहोर्ने गरी काम भएको उहाँको भनाई छ । कालिका मन्दिरमा दसैँमा विशेष पूजापाठ हुने गरेको छ । मन्दिरमा अष्टमीको दिन बोकाको बली दिनुका साथै पूजापाठ हुने गरेको छ ।