नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसिएल) नेपाल रुकुम पश्चिमको जिल्ला सम्मेलन जेठ पहिलो साता हुने भएको छ । जिल्ला सदरमुकाम मुसीकोटमा बसेको संगठनको विस्तारित बैठकले संगठनको जिल्ला सम्मेलन जेठ ५ र ६ गते गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सर्वोच्च अदालतले भंग गरेपछि एमाले र माओवादी पार्टी संगै पार्टी निकट विभिन्न संगठनहरु पनि पुनः अस्तित्वमा आएका छन् । पार्टी एकता भंग भएपछि पहिलो पटक बसेको संगठनको विस्तारित बैठकले जिल्ला सम्मेलनको मिति तय गरेको हो ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने संगठनका केन्द्रीय सदस्य शैलेसकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनका लागि ७१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । त्यस्तै संगठन विस्तार र सुधृढिकरण अभियान संचालन गर्ने निर्णय भएको छ ।
यसक्रममा जिल्लाका सबै वडा देखि पालिका सम्मका बैठक तथा भेला गरिने छ । त्यस्तै संगठनले पार्टीले संचालन गरिरहेको आर्थिक समृद्धिको अभियानलाई सफल पार्न सहयोग गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य शर्माले बताउनुभयो ।