रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ६ मा रहेको झुल्नेटा बजार र वडा नम्बर २ मा रहेको सिम्रुतु बजार अनुगमन गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी संयोजकत्वको टोलीले सिम्रुतु बजार र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीको टोलीले झुल्नेटा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा बजारबाट ठुलो मात्रामा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार मेडिकलबाट म्याद नाघेका औषधी समेत बरामद गरिएको छ ।
झुल्नेटा र सिम्रुतु बजारबाट म्याद सकिएका चाउचाउ, बिस्कुट, चिया पत्ती, दालमोठ, कोकाकोला जुस, खानामा प्रयोग गर्ने रङ, बरामद गरिएको छ । त्यस्तै साबुन स्याम्पु, एग्रोभेटबाट बिउँ, औषधी र मेडिकलबाट म्याद गुज्रिएका औषधी बरामद गरिएको हो । बरामद गरिएका सामग्री ४० हजार रुपैयाँ बराबरको रहेको घर्तीले जानकारी दिनुभयो । उक्त सामग्री प्रहरी तथा कर्मचारीको रोहवरमा आगो लगाएर नष्ट गरिएको छ । मंगलबार सिम्रुतुमा १ सय ९ र झल्नेटामा १ सय ९६ वटा किराना, खाद्यान्न तथा औषधी पसलहरू गरेर ३ सय ५ वटा पसलहरू अनुगमन गरिएको हो ।
जस मध्ये सिम्रुतुमा ११ वटा र झुल्नेटामा १२ वटा पसलबाट म्याद गुज्रिएका सामान फेला परेको थियो । त्यस्तै झल्नेटा बजारमा २ वटा पसलबाट नेपाल सरकारले विद्यालयहरूमा निःशुल्क वितरण गर्ने २ सय सेनेटरी प्याड बिक्री गरिरहेको पाइएको छ । ती पनि प्याड बरामद गरिएको छ । बरामद गरिएका प्याडका सम्बन्धमा गाउँपालिकाका राजस्व परामर्श समितिको छलफल पछि मात्रै के गर्ने भन्ने निर्णय हुने प्रमुख घर्तीले जानकारी दिनुभयो ।
इजाजत नलिई मदिरा पसल सञ्चालन गर्ने व्यवसायीलाई जरिवाना
मदिरा बिक्री वितरणको लागि इजाजत प्रमाणपत्र नलिई मदिरा बिक्री वितरण गर्ने ५ व्यवसायीलाई जरिवाना गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ५ मा पने झुल्नेटा बजारका ५ वटा पसल व्यवसायीलाई जरिवाना तिराइएको हो । बजार अनुगमनका क्रममा मदिरा बिक्री वितरणको लागि इजाजत नलिएको पाएकोले झुल्नेटाका ५ वटा होटेल व्यवसायीलाई मदिरा खरिदको ५० प्रतिशत जरिवाना तिराइएको गाउँपालिकाले जनाएको छ ।
बियर, भर्जिन, सोफी र डाइमन लगायतका मदिराको खरिद मूल्यको ५० प्रतिशतले ४ हजार एक सय ३३ रुपैयाँ जरिवाना तिराइएको हो । जरिवाना तिराइएपछि भने मदिरा फिर्ता गरिएको र इजाजत लिएर मात्रै विक्री वितरण गर्न भनिएको छ । जरिवाना तिराएको रकम गाउँपालिकाको राजस्व शाखामा जम्मा हुने प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिनुभयो । दर्ता तथा नवीकरण नगरेका व्यवसायीलाई तत्काल दर्ता तथा नवीकरण गर्न भनिएको छ । त्रिवेणी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।