रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखकी २८ बर्सिया भावना विकको हत्यामा संलग्न भएको भन्दै प्रहरीले एक पुरुषलाई सार्वजनिक गरेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली बस्ने ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकलाई आज पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको हो । भावनाको मङ्गलवार बिहान खलङ्गाको सत्कार होटेलको १ नम्बर कोठामा शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । ‘उनीहरूबिचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता खुलेको हो, डिएसपी भट्टराईले भन्नुभयो ।’
लोकबहादुरले भावनाको हत्या गरेको स्वीकार समेत गरेको उहाँले जानकारी दिनुभयो । विवाद बढ्दै गएपछि भावनाकाे छातिमा प्रहार गरेकाे र उनी लड्पछि चक्कुले गला रेटेकाे बयान दिएकाे उहाँले बताउनुभयाे । चक्कु समेत साथैमा रहेका कारण हत्या पूर्व याेजना अनुसार नै भएकाे देखिएकाे डिएसपी भट्टराइकाे भनाई छ । उहाँका अनुसार उनीहरु २८ गते हाेटेलकाे काेठा लिएर बसेकाे र २९ गते बिहान १० देखि ११ बजेकाे विचमा घटना भएकाे देखिएकाे छ । लाेकबहादुर घटना घटाएर साढे ११ बजेकाे समयमा हाेटेलबाट निस्किएर बालमन्दिर हुँदै कालिकास्थानबाट बाहिरिएकाे देखिएकाे प्रहरीले बताएकाे छ ।
भावनाले होटेलमा कोठा लिएको र त्यसमा आफ्नो श्रीमान् भनी विकास केसीको नाम उल्लेख गरेको तर नम्बर भने लोकबहादुरको राखेको प्रहरी बताउँछ । नाम झुटो लेखे पनि नम्बर भने सत्य उल्लेख गरेको डिएसपी भट्टराईको भनाई छ । उनीहरूका बिचमा अवैध सम्बन्ध रहेको र आर्थिक कारोबार समेत रहेको पाइएको प्रहरीले पत्रकार सम्मेलन मार्फत खुलाएको छ । ‘कल डिटेल र अन्य कुरा हेर्ने हो भने उनीहरूका बिचमा अवैध सम्बन्ध पुष्टि हुन्छ, दुवैका बिचमा आर्थिक कारोबार समेत भएको पाइएको छ, त्यसैका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, डिएसपी भट्टराईले भन्नुभयो ।’
भावनाले विवाह गरौँ भनेपछि आफूले घटना घटाएको लोकबहादुरले बयान दिएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै लोकबहादुरले भावनालाई उनका श्रीमान् विदेश जाँदा ५ लाख रुपैयाँ सापटी दिएको समेत बताएको डिएसपी भट्टराईले बताउनुभयो । घटनास्थलबाट रगत जस्तो पदार्थ लागेको चक्कु १ थान, घटनास्थल रहेको कोठाको डस्वीनबाट चक्कुको खोल एक थान, होटेलको इन्ट्री किताबमा दर्ता गरिएको नम्बर प्रयोग भएको मोबाइल र प्रतिवादीको घरको कोठाबाट ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाकाे दिन पीडितसँग पैसा रहेकाे देखिएकाे भट्टराईले बताउनुभयाे ।पीडित परिवारबाट आएको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दा शीर्षकमा अनुसन्धान चलिरहेको डिएसपी भट्टराईले जनकारी दिनुभयो । घटनाकाे अनुसन्धानका लागि कर्णाली प्रदेश केनाइन बाँकेबाट तालिमप्राप्त कुकुर सहितकाे टाेली पनि आएकाे थियाे ।
म्यादी प्रहरी हुँदा भएको थियो चिनाजान
उनीहरूका बिचमा गत स्थानीय तहको निर्वाचनका क्रममा चिनाजान भएको पाइएको छ । २०७९ को वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा भावना म्यादी भएको र प्रहरी चौकी सिम्लीमा खटिएका बेला उनीहरूका बिचमा चिनजान भएको र त्यसपछि सम्बन्ध सुरु भएको भेटिएको प्रहरी प्रमुख डिएसपी भट्टराईले जानकारी दिनुभयो । म्यादी भएका बेला भावनाले लोकबहादुरको होटेलमा खाना खाने गरेको र त्यसपछि चिनजान भएको देखिन्छ, डिएसपी भट्टराईले भन्नुभयो ।
लोकबहादुरले संविधान दिवसको अवसरमा बहुविवाहको मुद्दामा सजाय माफी पाएका थिए
लोकबहादुर यसअघि नै कारागार चलान भइसकेका व्यक्ति हुन् । उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए । तर उनले ६ महिना कैद भुक्तान गर्दै गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा भएपछि रिहा भएका थिए । भावना र लोकबहादुरका बिचमा कारागारमै समेत भेट भएको प्रहरीले खुलाएको छ । भावना लोकबहादुरलाई भेट्न २ पटक जिल्ला कारागार पुगेको पाइएको पनि डिएसपी भट्टराईले जानकारी गराउनुभयो ।