यति बेला सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको छ । पत्रकार नारायण ओलीले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडिओमा नेपाल बैङ्क रुकुम पश्चिम मुसिकोट शाखाका एक जना कर्मचारीले बैङ्कको छतबाट केही गड्डी नोट फाल्दिन्छन् र एक जना व्यक्तिले उठाएर लिन्छन् । जति बेला बैङ्कमा सटर लागेको छ । त्यस कारण यो भिडिओ कार्यालय समय भन्दा पछिको देखिन्छ । आफू दिनभरि लाइन लागेको तर पैसा छैन भनेर बैङ्कले नदिएको तर कार्यालय समयपछि पहुँचवालालाई भने छतबाटै पैसा फाल्दिएको भिडिओ खिच्ने पत्रकार ओलीले बताउनुभयो ।
यति बेला नेपाल बैङ्क मुसिकोट शाखाले पहुँचवालालाई मात्र खुल्ला पैसा बाँडेको व्यापक आरोप लागेको छ । दिनभर लाइन लाग्दा पनि खुल्ला नोट पाउन नसकेको सर्वसाधारणहरूको गुनासो छ । केही व्यक्तिले नयाँ नोट पाए पनि अधिकांश व्यक्ति भने रित्तै फर्किएका छन् । बुधवार दिनभर लाइनमा बसेर रित्तै फर्किनु परेको मुसिकोट नगरपालिका ९ का कमल खड्काले गुनासो गर्नुभयो । ‘पहुँचवाला तथा कर्मचारीसँग राम्रो सम्बन्ध भएकालाई भने लाइन लाग्नु परेन, उनीहरूले फ्याट्ट पैसा पाए तर हामी दिनभर लाइन लागेकाले भने पैसा पाएनौँ, उहाँले गुनासो गर्नुभयो ।’ कमलले भनेजस्तै सामाजिक सञ्जालमा भाइरल भिडिओमा पनि देखिएको छ ।
दिनभर लाइन लाग्दा पनि आफूले नयाँ नोट नपाएको तर बैङ्कका कर्मचारीले घरको छतबाट आफन्तलाई नयाँ नोट दिँदा भने मन दुखेको त्रिवेणी १० का यामबहादुर खड्काले बताउनुभयो ।
पहुँचका आधारमा पैसा बाँडेको छैन: नेपाल बैङ्क
नेपाल बैङ्क रुकुम शाखाले भने शक्ति र पहुँचका आधारमा नयाँ नोट नबाँडिएको बताएको छ । राष्ट्र बैङ्कले नयाँ नोट नपठाउँदा सर्वसाधारणलाई भने जति नयाँ नोट दिन नसकिएको नेपाल बैङ्क लिमिटेड मुसिकोट शाखा प्रमुख सन्तोषकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो बुधवार पहिलेकै जम्मा रकम सर्वसाधारणलाई बाँडिएको हो । ‘‘अव नयाँ नोट पाउने सम्भावना छैन, राष्ट्र बैङ्कले रकम पठाएको छैन, पहिलेकै बाँकी ७० लाख ६० हजार रकम बाँडिएको हो’’ शर्माले भन्नुभयो ।
सामाजिक सञ्जालमा आएको भिडिओ बारे शाखा प्रमुख शर्माले भन्नुभयो–‘बैङ्कमा कार्यरत कर्मचारी यज्ञप्रसाद डाँगीले आफ्नै भागको एक सेट अर्थात् १८ हजार ५ सय दिइएको हो, सोही रकम उहाँले आफ्नो घरबेटीलाई दिनुभएको हो, यसमा शक्ति र पहुँचका आधारमा वितरण गर्यो भनेर भन्न मिल्दैन म आफैँ खटिएर सर्वसाधारणलाई रकम बाढेको छु ।’ बुधवार मात्रै पहिलेको स्टक ७० लाख ६० हजार साढे ४ सय जनालाई बाँडिएको र अव बैङ्कमा नयाँ नोट नरहेको प्रमुख शर्माले बताउनुभयो ।