रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा दोस्रो वडाध्यक्ष कप खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको प्रतियोगिताको आज बिहान मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो ।
वडाध्यक्ष दिनेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाली काँग्रेसका जिल्ला सचिव प्रमेश्वर भण्डारी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, मुसिकोट नगरपालिका वडा नम्बर १० का अध्यक्ष धनबहादुर खड्का, सशस्त्र प्रहरी निरीक्षक झक्कु शर्मा, जनप्रतिनिधि, कर्मचारी लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कमल पुनले गर्नुभएको थियो ।
प्रतियोगितामा रुकुम पश्चिम र पूर्वका ५२ जोडीले भाग लिएका छन् । प्रतियोगिता भोलीसम्म सञ्चालन हुने वडाध्यक्ष दिनेश खड्काले जानकारी दिनुभयो । वडामा राम्रो कोर्ट नभएका कारण खलङ्गामा प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।
उहाँका अनुसार प्रतियोगिताको विजेता जोडीले २५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उप विजेता जोडीले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुनेले ८ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । बडा दसैँको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । वडाले अघिल्लो वर्ष प्रथम वडाध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।