Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सामुदायिक वनमा सुशासन अभियानको २ महिना पुरा, के के भए गतिविधि ? 

रुकुम पश्चिममा डिभिजन वन कार्यालयले सञ्चालन गरेको सामुदायिक वनमा सुशासन अभियानको २ महिना पुरा भएको छ । भदौ १ गतेबाट सुरु भएको सामुदायिक वनमा सुशासन कार्यक्रम कार्तिक १ गते २ महिना पुरा भएको हो । दुई महिना पुरा भएको अभियानको कार्यालय समीक्षा समेत गरेको छ । २ महिनाको अभियानमा डिभिजन वन कार्यालयले जिल्लाका ७३ वडामा रहेका ३ सय ८६ वटा सामुदायिक वन मध्ये १ सय १८ सामुदायिक वनमा सुशासन अभियान मार्फत कार्यक्रम सञ्चालन गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै सामुदायिक वनमा सुशासन अभियान कार्यक्रम सञ्चालन गर्न २ सय ६८ सामुदायिक वन रहेका छन् । डिभिजन वन कार्यालयले २४ जना कर्मचारी तथा प्राविधिकहरूलाई परिचालन गरेर दुई समूहमा सामुदायिक वनमा सुशासन अभियान सञ्चालन गरेको थियो । मुसिकोट समूह र चौफा समूह गरेर दुई समूहमा सुशासन अभियान चलाएको निमित्त प्रमुख परियारले जानकारी दिनुभयो । दुई समूहले सञ्चालन गरेको अभियानमा ३० वटा वडा स्तरीय समन्वय बैठक, १ सय १८ सामुदायिक वनको अभिलेख व्यवस्थापन, १ सय १८ सामुदायिक वनको लेखा परीक्षण तथा व्यवस्थापन, ६७ सामुदायिक वनको आम भेला सञ्चालन गरिएको छ ।

त्यस्तै ११ वटा सामुदायिक वन खारेजीका लागि मुचुल्का तथा कागजात समेत तयारी गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । यो कार्यक्रम अन्तर्गत वडाबाटै सामुदायिक वन उपभोक्ता समूहको वार्षिक लेखा परीक्षण, वार्षिक प्रगति प्रतिवेदन, म्याद समाप्त भएका सामुदायिक वन उपभोक्ता समूहको वन कार्य योजना नवीकरण कार्यक्रम सञ्चालन भएका थिए । त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको अभिलेख व्यवस्थापन, समूहहरूको आम भेला तथा अवधि सकिएकाको हकमा कार्य समिति पुनर्गठन लगायतका कार्यक्रम सञ्चालन गरिएको निमित्त प्रमुख परियारले बताउनुभयो ।

सामुदायिक वनमा सुशासन अभियानले उपभोक्ता समितिमा हुने अनियमितता, उपभोक्ता समितिलाई चलायमान गर्ने लगायत वनमा हुने आर्थिक गतिविधिको पारदर्शी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update