रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले वादी समुदायलाई खाद्यान्न वितरण गरेको छ । दसैँ मनाउ सहज होस भनेर आज नगरपालिकाले वादी समुदायका १७ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो । नगरपालिकाको कार्यालयमै बोलाएर वादी समुदायका १७ घर परिवारलाई खाद्यान्न वितरण गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ९ मा रहेका सीमन्तकृत समुदायका १७ घर परिवारलाई खाद्यान्न उपलब्ध गराइएको हो । प्रत्येक परिवारलाई १ बोरा चामल, २ लिटर तेल, ३ किलो दाल र १ किलो नुन वितरण गरिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । दसैँमा थोरै भए पनि खाद्यान्न वितरण गरिएकाले वादी समुदायलाई दसैँ मनाउन सहज हुने उहाँको विश्वास छ ।
वादी समुदायले दसैँमा खाद्यान्न पाएपछि दसैँ मनाउन सजिलो हुने भन्दै खुसी व्यक्त गरेका छन् ।