Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रधानमन्त्री प्रचण्ड भोली रुकुम पश्चिम आउने, के छ कार्यक्रम ?
फाइल फाेटाे ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली रुकुम पश्चिम आउनुहुने भएको छ । पार्टीको तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत उहाँ रुकुम पश्चिम आउन लाग्नुभएको हो । अभियानका लागि ७ प्रदेशका ७ वडामा पुग्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशको रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर ६ पुग्न लाग्नुभएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । ‘अभियानका लागि अध्यक्ष प्रचण्ड ७ प्रदेशका ७ वडामा पुग्ने कार्यक्रम थियो, सोही अनुसार उहाँ कर्णाली प्रदेशको एक वडामा पुग्ने कार्यक्रम अन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मा पुग्दै हुनुहुन्छ,’ रोकाले भन्नुभयो ।

अभियानका लागि जिल्ला पुग्न लाग्नुभएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाँफिकोट ६ र ७ को संयुक्त वडा समिति बैठकमा सहभागी हुनुहुने छ । बैठकमा उहाँले रिपोर्टिङ सुन्नुका साथै पार्टी कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै उहाँले सहिद परिवार तथा घाइते अपाङ्गहरूसँग भेटघाट गर्नुका साथै पार्टीका जिल्लास्थित अगुवा कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष केसीले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले बाँफिकोट ६ मा लाग्दै आएको सहिद स्मृति मेलाको उद्घाटन र मेलालाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । उहाँ हेलिकप्टर मार्फत भोली बिहान ९ देखि १० बजेको बिचमा बाँफिकोट गाउँपालिका ६ मग्मा आइपुग्नुहुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड भोली नै फर्किने कार्यक्रम रहेको छ । यो कार्यकालमा प्रधानमन्त्री प्रचण्ड पहिलो पटक रुकुम पश्चिम आउन लाग्नुभएको हो ।

प्रचण्ड सहित पूर्व मन्त्री तथा पार्टीका उपमहासचिव जनार्दन शर्मा, उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पार्टीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी लगायतको टोली पनि आउने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज गगन खड्का, केन्द्रीय सदस्य गोपाल शर्मा, वसन्त शर्मा लगायत पनि उपस्थित हुने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update