नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को इन्चार्ज बन्नुभएको छ । पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बिहीबार एक दिनका लागि प्रचण्ड दुई वडाको इन्चार्ज बन्नुभएको हो । अभियानका लागि पार्टी अध्यक्ष ७ प्रदेशका ७ वडामा जाने कार्यक्रम अन्तर्गत बिहीबार उहाँ कर्णाली प्रदेशको रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा पुग्नुभएको थियो । उहाँ इन्चार्जको हैसियतमा दुई वडाको संयुक्त विस्तारित बैठकमा सहभागी भएको नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।
बैठकमा ४ वटा प्रस्तावमा छलफल भएको उहाँको भनाई छ । उहाँका अनुसार बैठकमा सङ्गठन, उत्पादन तथा रोजगार, भौतिक पूर्वाधार र जनसत्तामा कारोबार भएका जग्गाको लिखतका सम्बन्धमा छलफल भएको थियो । वडा नम्बर ७ का अध्यक्ष डिलबहादुर कुसारीको अध्यक्षतामा भएको बैठकमा ६ नम्बर वडा इन्चार्ज मनोज अधिकारी र ७ नम्बर वडाका तीन महिने अभियान इन्चार्ज नरबहादुर खत्रीले रिपोर्टिङ राख्नुभएको थियो ।
बैठकको सञ्चालन पार्टीका ६ नम्बर अध्यक्ष हरिबहादुर खत्रीले गर्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी सङ्गठनलाई सुदृढ बनाउनका लागि तीन महिने अभियान सञ्चालन भइरहेको जानकारी गराउनुभयो । साथै शिक्षा स्वास्थ्य, रोजगार र उत्पादनका लागि संघीय सरकार गम्भीर रहेको, गाउँपालिकाले सुरु गरेको चक्रपथलाई पुरा गर्न सङ्घीय सरकारका तर्फबाट बजेटको व्यवस्थापनका लागि पहल गर्ने र तत्कालीन जनसत्ताका लिखतको विवाद टुङ्ग्याउन पहल गरिरहेको प्रचण्डको जवाफ थियो ।
अभियानका लागि मग्मा पुग्नुभएका प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समक्ष गाउँपालिकाका सहिद परिवार तथा घाइते अपाङ्गहरूले विभिन्न माग राखेका छन् । सहिद परिवार तथा घाइते अपाङ्गहरू सँगको भेटका क्रममा उनीहरूले विभिन्न माग राखेका हुन् । सहिद परिवारको तर्फबाट सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्रीले रिपोर्टिङका साथै माग पत्र पेस गर्नुभएको थियो । त्यस्तै घाइते अपाङ्गको तर्फबाट सौरभ केसीले रिपोर्टिङ र माग राख्नुभएको थियो ।
त्यस्तै अध्यक्ष प्रचण्डसँग अगुवा कार्यकर्ताले भेटघाट समेत गरेका छन । पार्टीको तीन महिने अभियानका लागि पार्टीका जिल्ला इन्चार्ज गगन खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनले गर्नुभएको थियो । अभियान तथा समग्र पार्टी सङ्गठनका विषयमा जिल्ला संयोजक रोकाले नै रिपोर्टिङ गर्नुभएको थियो ।