Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीकाे गरिबी अन्त्य गर्ने मुख्य आधार कृषि र वन पैदावार: मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।

कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वन पैदावार रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कृषि र वन पैदावारबाट उद्योग सञ्चालन गरेर मात्रै कर्णालीको गरिबी अन्य गर्न सम्भव हुने बताउनुभयो । ‘त्यसको लागि भौगोलिक बनावट छुट्टाएर व्यावसायिक रूपमा उत्पादन गर्ने किसानसँग हातेमालो गर्न लागेका छौँ, त्यसैका आधारमा हामी खाका कोर्दै छौँ, कर्णालीमा भएको जडीबुटी, वन पैदावार र श्रम एकसाथ परिचालन गर्दै छौँ’ मुख्यमन्त्री शर्माले भन्नुभयो । 

‘बैङ्कहरूले हामीलाई त्यति राम्रोसँग पत्याई राखेको अवस्था छैन, तीनै तहको सरकार मिलेर लघु वित्त बैङ्क निर्माण गरेर कम्तीमा किसानलाई नौ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने र किसानहरूलाई उत्पादनमा लगाउने योजनाका साथ हामी अगाडी बढिरहेका छौ, मलाई विश्वास छ, यो निर्णयमा सम्माननीय प्रधानमन्त्रीले अनुमति दिनुहुने छ र हामी अगाडी बढ्नेछौ’ मुख्यमन्त्री शर्माले अघि थप्नुभयो । कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउन तीनै तहका सरकारले जनतातिर फर्केर आम जन परिचालन गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । गरिबी अन्त्यका लागि तीनै तहका सरकारले साझा प्रतिबद्धता गर्नुको विकल्प नरहेको समेत उहाँको भनाई थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update