गत वर्षको स्थानीय तहको चुनाव पछि रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ का सुत्केरी आमाहरूले घरमै सुत्केरी स्याहार खर्च पाउन थालेका छन् । वडाका सुत्केरी आमाहरूले घरमै आफ्नो र बच्चाको लागि स्याहार खर्च पाइरहेका हुन । वडाध्यक्ष धिरन शिर्पालीकाे व्यक्तिगत लगानीमा स्याहार खर्च उपलब्ध बनाउँदै आइएको छ । गत साल २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा विजय भई पदभार ग्रहण गर्ने बेला वडाध्यक्ष शिर्पालीले सुत्केरीलाई स्याहार भत्ता दिने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार वडा अध्यक्ष शिर्पालीले व्यक्तिगत सेवा सुविधाबाट प्राप्त हुने रकमबाट घर घरै पुगेर सुत्केरी आमाहरूलाई स्याहार खर्च दिँदै आउनुभएको छ ।
उहाँले पदभार ग्रहण गरे देखि हालसम्म वडाका ४१ जना सुत्केरी आमाहरूलाई स्याहार खर्च उपलब्ध बनाइसक्नुभएको छ । बच्चा जन्मेको एक महिना भित्र सुत्केरी आमाको घरमा पुगेर आमा र बच्चाको स्याहारको निम्ति आफ्नो व्यक्तिगत तर्फबाट ३ हजार रुपैयाँका दरले खर्च उपलब्ध बनाउँदै आएको वडाध्यक्ष शिर्पालीले जानकारी दिनुभयो । सुत्केरी आमा र बच्चाको स्याहार खर्च वितरण गर्दा वडाबाट स्वास्थ्यकर्मी सहितको समूह घरमै पुगेर स्वास्थ्य अवस्थाको चेकजाँच गर्नुका साथै स्वास्थ्य परामर्श समेत दिने गरेको उहाँको भनाई छ । निर्वाचित भएपछि हालसम्म वडाका ४१ जना सुत्केरी आमा, एक जना मुटु रोगी र एक जना मिर्गौला पीडित व्यक्तिलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गरिएको वडाध्यक्ष शिर्पालीले जानकारी दिनुभयो ।
वडाध्यक्ष शिर्पालीका अनुसार हालसम्म सुत्केरी आमालाई स्याहार खर्च बापत १ लाख २३ हजार रुपैयाँ र दुई जना दीर्घरोगीहरुको निःशुल्क बिमा बापत ७ हजार गरेर १ लाख ३० हजार रुपैयाँ व्यक्तिगत सेवा सुविधाबाट खर्च भएको छ । आफ्नो कार्यकाल भर सुत्केरी आमालाई स्याहार खर्च वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष शिर्पालीले बताउनुभयो । आमा र बच्चाको स्वास्थ्य अवस्था सुधार गर्न र सुत्केरी आमालाई आवश्यक पर्ने अण्डा, माछा मासु, फलफूल किनेर खान थोरै मात्रामा भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत सेवा सुविधाबाट खर्च बेहोर्ने गरिएको अध्यक्ष शिर्पालीले बताउनुभयो ।
वडा अध्यक्षमा निर्वाचित भई पदभार ग्रहणका समयमा घोषणा गरे अनुसार वडामा पहिलो सुत्केरी आमाको रूपमा २०७९ असार महिनामा जमारुका विष्णु ददेल र मोहन ददेलको परिवारलाई सुत्केरी स्याहार खर्च उपलब्ध बनाएको थियो । केही दिन अघि मात्रै ४१ औँ सुत्केरी आमाको रूपमा वडाको नयाँ गाउँका मनकला शिर्पाली र रणबहादुर शिर्पालीको परिवारलाई घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य लाभको कामना गर्दै स्याहार खर्च उपलब्ध गराएको अध्यक्ष शिर्पालीको भनाई छ । घरमै सुत्केरी स्याहार खर्च पाउँदा निकै खुसी लागेको नयाँ गाउँकी मनकला शिर्पालीले बताउनुभयो । स्याहार खर्च बापत उपलब्ध भएको रकम आफ्नो र बच्चाको पालन पोषणमा खर्च गर्ने शिर्पालीले बताउनुभयो । वडा अध्यक्षको यो कार्यलाई वडावासीहरूले प्रशंसा गर्दै खुसी समेत व्यक्त गर्ने गरेका छन् ।