नरेश समर्पण विश्वकर्माको नयाँ गीत ‘कोसेली दसैँ तिहारको’ बजारमा आएको छ । नेपालीहरूका महान् चाड दसैँ र तिहारलाई लक्षित गरेर गीत तयार पारिएको हो । परदेशमा रहेको परदेशीको कथालाई समेटेर गीत निर्माण गरिएको छ । रोजगारीका लागि विदेशमा रहेको व्यक्ति दसैँ तिहार जस्ता चाडमा घर आउन नपाउँदाको पीडालाई गीतमा देखाइएको छ ।
साथै परदेशीको पर्खाइमा रहेका परिवारका सदस्य र चाडपर्वमा परिवारको सदस्य घरमा नहुँदा हुने पीडालाई समेत गीतमा झल्काइएको छ । नरेश समर्पण विश्वकर्माका शब्दमा गायक सागर विरही र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिनुभएको छ । यस गीतको भिडिओमा चर्चित मोडल विमल अधिकारी र देवा मगर फिचर्ड छन् ।
नरेश समर्पण विश्वकर्माकै युट्युबबाट सार्वजनिक गरिएको यो गीतले धेरैको मन समेत जितिरहेको छ । यो समाचार लेख्दासम्म यो गीतको भिडिओ १ लाख ४५ हजार ५ सय पटक भन्दा बढी पटक हेरिएको छ ।