रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा प्रथम त्रिवेणी गोल्ड कप फुटबल तथा वृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । त्रिवेणी यूथ क्लबको आयोजनामा भोली आइतबार देखि वडा नम्बर ६ को दवाङ खेल मैदानमा फुटबल तथा वृहत् सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
फुटबलको विजेताले नगद ८० हजार र कप पाउने छ । उपविजेता टिमले नगद ४० हजार प्राप्त गर्ने छ भने विजेता र उपविजेता दुवै टिमका खेलाडीलाई मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक त्रिवेणी यूथ क्लबले जनाएको छ । वेस्ट प्लेयर, टप स्कोरर र वेस्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने छ । दर्ता शुल्क कार्ड डिपोजिट सहित ८ हजार राखिएको छ ।
त्यस्तै स्लो बाइक रेस र भाले तान्ने प्रतियोगिता पनि आयोजना गरिएको छ । स्लो बाइक रेसको विजेताले ३ हजार ९ सय ९९ रुपैयाँ पुरस्कार पाउँदा भाले तान्नेलाई २ हजार बराबरको रातो भालेको व्यवस्था रहेको त्रिवेणी यूथ क्लबका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।
सांस्कृतिक कार्यक्रम तर्फ खुला लोकदोहोरी र एकल नृत्य आयोजना गरिएको छ । लोकदोहोरीमा प्रथमले ६ हजार ९ सय ९९, द्धितियले ५ हजार ९ सय ९९ र तृतीयले ४ हजार ९ सय ९९ पुरस्कार पाउने सांस्कृतिक संयोजक कुबेर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार मेडल र प्रमाणपत्रको समेत व्यवस्था रहेको छ ।
एकल नृत्य तर्फ प्रथमले ४ हजार ९ सय ९९, द्धितियले ३ हजार ९ सय ९९ र तृतीयले २ हजार ९ सय ९९ रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने ओलीले जानकारी गराउनुभयो । स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । भोलीबाट सुरु हुने प्रतियोगिता कार्तिक १५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।