रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरिनेटामा परम्परागत रूपमा लाग्दै आएको स्थानीय मेला यस वर्ष पनि कात्तिक १८ गते देखी २१ गतेसम्म लाग्ने भएको छ । त्रिवेणी गाउँपालिका २ नम्बर वडा खेलकुद विकास समितिले मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना गरेको छ । मेलाको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल, लोक दोहोरी, एकल नृत्य, भाले तान्ने र घैँटो फोर प्रतियोगिता आयोजना गरिएको वडा खेलकुद विकास समितिका अध्यक्ष मिलन पुन मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबलको प्रथम पुरस्कार ८० हजार, दोस्रो पुरस्कार ५० हजार र तेस्रो पुरस्कार ३० हजार रहेको छ । दर्ता शुल्क भने ८ हजार रहेको छ । त्यस्तै लोक दोहोरी र एकल नृत्यमा प्रथम स्थान हासिल गर्नेलाई समान ५ हजार, दोस्रो हुनेलाई ३ हजार ५ सय र तेस्रो स्थान हासिल गर्नेलाई २ हजार पुरस्कार रहेको छ । लोक दोहोरीको दर्ता शुल्क ५ सय रहेको छ । भने एकल नृत्यको दर्ता शुल्क ४ सय रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
त्यस्तै भाले तान्ने प्रतियोगिताको विजेताले २ हजार बराबरको रातो भाले प्राप्त गर्ने छ । घैँटो फोर प्रतियोगितामा विजेता हुनेले पनि २ हजार पुरस्कार प्राप्त गर्ने छ । घैँटो फोर र भाले तान्नेको दर्ता शुल्क समान २ सय रहेको छ । सबै प्रतियोगितामा स्थान प्राप्त गर्नेलाई नगद सहित कप मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहका दिन स्थानीय झाकी, आमा समूहको नाच र मयुर नाच प्रदर्शन हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।