Kakhara सबैको खबर सम्पूर्ण खबर
३५ वर्षपछि जिल्ला अस्पताल सल्लेमा ब्लड बैङ्क स्थापना 
रिवन काटेर ब्लड बैँककाे उद्घाटन गर्दै मुसिकाेट नगरपालिका प्रमुख महेन्द्र केसी ।

जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैङ्क स्थापना भएको छ । २०४५ सालमा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा अस्पतालमा ब्लड बैङ्क स्थापना गरिएको हो । मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले सोमबार बिहान ब्लड बैङ्कको उद्घाटन गर्नुभयो । याे सँगै जिल्लामा ब्लड बैङ्ककाे संख्या २ पुगेकाे छ । यसअघि चाैरजहारीमा ब्लड बैङ्क सञ्चालनमा आइसकेकाे छ । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिम लगायतका संस्थाको सहयोगमा अस्पतालमा ब्लड बैङ्क स्थापना गरिएको हो ।

ब्लड बैङ्कका लागि रूपान्तर नेपालले ३० लाख बराबरका विभिन्न १० प्रकारका सामग्री तथा उपकरण सहयोग गरेको छ । रूपान्तर नेपालले ग्रेस मिसन सिंगापुरको सहयोगमा ब्लड बैङ्कका लागि आवश्यक सामग्रीहरू मुसिकोट नगरपालिकालाई हस्तान्तरण गरेको थियो भने नगरपालिकाले अस्पताललाई हस्तान्तरण गरेको अध्यक्ष कुसारीले बताउनुभयो । उक्त सामग्री सहयोग पाएपछि कर्मचारी तथा आवश्यक भौतिक संरचनाको व्यवस्थापन गरेर ब्लड बैङ्क स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ब्लड बैङ्कका लागि छुट्टै भवनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

Blood Bank Upakaran1698651812.jpg
ब्लड बैंकका लागि आवश्यक उपकरण ।

ब्लड बैङ्क स्थापना भएपछि अव जिल्ला अस्पतालमा आउने रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहज भएको छ । अस्पताल स्थापना भएको वर्षौँसम्म पनि ब्लड बैङ्क नहुँदा रगतको आवश्यकता पर्ने बिरामीहरू मरमा पर्दै आएका थिए । रगतको आवश्यकता सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा बिरामीका आफन्त वा अन्य व्यक्तिहरूलाई गुहारेर पूर्ति गर्ने गरिएको थियो ।

अब ब्लड बैङ्क स्थापना भएपछि भने रगतको अभावमा भौँतारिनु नपर्ने र रगतको अभावमा अकालमै ज्यान जाने अवस्थाको अन्त्य हुने स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सुशील पोख्रेलले जानकारी दिनुभयो । हामीले विशेषज्ञ सेवा समेत सुरु गरेका छौँ, अस्पतालमा विभिन्न प्रकारका अप्रेसन समेत गर्ने गर्छौँ, रगत नै नभएको अवस्थामा कसरी अप्रेसन गर्नु, भर्खरै मात्र पनि रगतको अभावमा एक जना बच्चाले ज्यान गुमाउनुपर्‍यो, उहाँले भन्नुभयो–तर अब भने रगत अभावमा उपचारमा समस्या हुने छैन, भने रगत अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने छैन ।

ब्लड बैङ्क उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र जिल्ला बाहिर जानु नपरोस् भनेर ब्लड बैङ्क स्थापनाका लागि नगरपालिका गम्भीरताका साथ लागेको जानकारी गराउनुभयो । अस्पतालमा विशेषज्ञ सेवा सुचारु भइरहेको अवस्थामा रगतको अभाव धेरै नै भइरहेको अवस्थामा नगरपालिका गम्भीर बनेको र त्यसैको फलस्वरूप आज ब्लड बैङ्क स्थापना गर्न सफल भएको उहाँको भनाई थियो । नगरपालिका आफैँले मात्र लगानी गरेर ब्लड बैङ्क सञ्चालन गर्न सम्भव नदेखिएपछि नगरपालिकाले दातृ निकायलाई गुहारेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले समेत भूमिका खेल्ने बताउँदै उहाँले ब्लड बैङ्क दिगो रूपमा सञ्चालनका लागि उहाँले स्वास्थ्य सेवा कार्यालयलाई अनुरोध गर्नुभयो ।

Blood Bank Salle1698651863.jpg
ब्लड बैंक भवन ।

कार्यक्रममा बोल्दै रूपान्तर नेपालका मुकुन्द शर्माले जिल्लावासीकाे स्वास्थ्यलाई ध्यानमा राखेर ब्लड बैङ्कका लागि सहयोग गरेको बताउनुभयो । आफू पनि यसै जिल्लावासी भएको र जिल्लामा ब्लड बैङ्क नहुँदा जिल्लावासीले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै ब्लड बैङ्क स्थापनामा सरकारसँग हातेमालो गरेको उहाँको भनाई छ । त्यस्तै ग्रेस मिसन सिंगापुरका नेपाल प्रतिनिधि सि विन टानले ब्लड बैङ्क स्थापना भएको देख्दा आफूलाई खुसी लागेको र यसले दुर्गमका धेरै नागरिकलाई सहजता थप्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पताल विकास समितिका सदस्य दीपकराज खड्काले गर्नुभएको थियो ।

ब्लड बैङ्क स्थापनासँगै रक्तदान समेत सुरु भएकाे छ । आज पहिलाे दिन ७ जनाले रक्तदान गरेकाे बताइएकाे छ । त्यसमध्ये दुई जना बिरामीलाई रगत समेत चढाइएकाे छ । 

Blood Bank Opening1698651980.jpg
ब्लड बैंक उद्घाटन समाराेहमा सहागी अतिथि ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update