Kakhara सबैको खबर सम्पूर्ण खबर
अर्ना बियरबाट कुन नेपाली क्रिकेट खेलाडीले कति पुरस्कार पाउने ? 
खेलाडीले पाउने पुरस्कार रकम ।

टी–२० विश्वकप क्वालिफायर अन्तर्गत आज भएको पहिलो खेल खेल्ने नेपाली खेलाडीलाई अर्ना बियरले ६ लाख ६४ हजार पुरस्कार दिने भएको छ । अर्नाले नेपाली खेलाडीका लागि विभिन्न पुरस्कारको घोषणा गरेको थियो । सो अनुसार आजको पहिलो खेलबाट नेपाली खेलाडीहरूले ६ लाख ६४ हजार पुरस्कार पाउने भएका हुन् । 

जसअनुसार सबैभन्दा बढी पुरस्कार ओपनर कुशल भुर्तेलले पाउने भएका छन् । उनले आज नेपालको तर्फबाट सबैभन्दा बढी ७४ रन बनाएका थिए । त्यस क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए । उनले अर्नाका तर्फबाट सर्वाधिक १ लाख ९४ हजार रुपैयाँ पुरस्कार पाउने भएका हुन् । त्यस्तै दोस्रोमा कप्तान रोहितकुमार पौडेलले ९५ हजार पुरस्कार पाउने छन् । उनले २ चौका र २ छक्काको मद्दतमा ३५ रनको योगदान गरेका थिए । 

अभिनाश बोहराले ९० हजार, आशिफ सेखले ६७ हजार, गुलशन झा ले ६० हजार, सन्दीप लामिछानेले ६० हजार, कुशल मल्लले २६ हजार र सोमपाल कामीले १३ हजार पाउने भएका हुन् । अभिनाशले १ मेडन सहित सर्वाधिक ३ विकेट लिएका थिए । सन्दीप, करण र गुलशनले समान २–२ विकेट लिएका थिए । अर्नाले प्रत्येक चौका, छक्का, विकेट, डट बल, रन र मेडन ओभरका लागि छुट्टाछुट्टै पुरस्कारको घोषणा गरेको थियो । 

जसअनुसार नेपाली खेलाडीले प्रत्येक एक रनको एक हजार, एक चौकाको १० हजार, एक छक्काको २० हजार, एक डट बलको १ हजार, एक विकेटको २५ हजार र मेडन ओभरको १० हजार पुरस्कार पाउने छन् । नेपाली खेलाडीको मनोबल उच्च बनाउनका लागि पुरस्कारको घोषणा गरिएको अर्ना बियरले जनाएको छ । उसले यसअघि एसिया कप अन्तर्गत भारत विरुद्धको खेलमा पनि नेपाली खेलाडीलाई प्रदर्शनका आधारमा पुरस्कार दिएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update