ऐँठन २०७९ को मदन पुस्तकार विजेता कृत्ति हो । त्यसमा कस्तो विषयले प्रवेश पाएको होला ? कसरी जन्मियो होला ऐँठन ? के कारणले विवेक ओझालाई ऐँठन परेको होला ? यस्तै यस्तै प्रश्नले निकै कौतूहल थियो । खुलदुली थियो । ऐँठन कहिले भेटौँला र धोको मेटौँ भएको थियो । सहकर्मी निर्मल ओलीको प्रयासमा ऐँठनसँग भेट भयो । त्यो पनि दसैँ बिदाको अघिल्लो दिन । मन खुसीले गद गद भयो । दसैँ बिदामा चार दिनसम्म ऐँठन साहित्यिक स्वदानको गजब खुराक बन्यो । ऐँठनसँग डुबुल्की मारेपछि तरङ्गित भावका साथ सङ्क्षेपीकरण प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
ऐँठन के हो ?
अछाममा जन्मिएका विवेक ओझाको उपन्यास हो ऐँठन । यो युद्ध भूमिको कथा हो । परिवर्तनका खातिर गरिएको सङ्घर्ष हो । रणभूमिको प्रतिविम्ब हो । जनयुद्धको झल्को हो । अन्याय र विभेद अन्त्यका लागि गरिएको ऐक्यबद्धता हो । शासन व्यवस्था पल्टाउने अठोटको गतिविधि हो । सेनाको हर्कत, छापामार र जनताको रगत पसिना समेटिएको इतिहास पनि हो ।
युद्ध र हतियारले निम्त्याएको त्रासदीपूर्ण जीवनको अनुभूति ऐँठनमा भेट्न सकिन्छ । चाहे महाभारतको युद्धको प्रसङ्ग होस्, चाहे हिरोसिमाको बम विस्फोट । चाहे त्यो छापामार र सेनाका गतिविधिहरू । युद्धको क्रूरता र निर्ममताको कथा हो ।.. र त हतियार निस्तेजको विकल्पको खोजी ऐँठनले गरेको छ ।
सेना र छापामार कतिपय गतिविधिहरू निरङ्कुश बनेका छन् । युद्धको आधारभूत मान्यताले सीमा नाघेको छ । मार्ने र मर्ने क्रम निरन्तर चलेको छ । गाउँमा त्रास छ । युद्धमा दुवै पक्षबाट खेप्नु परेको यातनामय जिन्दगी कहालीलाग्दो रूपमा प्रस्तुत गरिएको छ । पात्रअनुसारका प्रवृत्ति र व्यवहार फरक छन् । कतिपय निरङ्कुश जसमा कुनै हृदय छैन जस्तै । कोही मिलनसार र मानवीयताको ख्याल गर्छन् । कतिपयले जिम्मेवारीको दुरुपयोग गर्ने अमानवीय कुचेष्टासमेत गरेका छन् । विशेष गरी महिलाहरू असुरक्षित बनेका छन् । बलात्कार जस्तो घृणित र अमानवीय कार्यको सामना गर्न बाध्य बनेका छन् ।
वफादारिताको कथा पनि हो ऐँठन । विवाहको पहिलो रात नै छापामार दम्पती भीषण आक्रमणमा संलग्न भएका छन् । विवाहको पहिलो रात सुहागरातको कुनै मतलब भएन । उनीहरू अछामको मङ्गलसेन कब्जामा सक्रिय भए । सदरमुकाम कब्जामा प्राप्त गरेको विजयलाई सबैभन्दा ठुलो खुसीका रूपमा लिए । महिलामा पनि उच्च विद्रोही चेत र सफल नेतृत्व क्षमताको चर्चा पाउन सकिन्छ । युद्धको बिचमा पनि प्रेम अङ्कुराएको छ । विधवाले रातो लगाउन हुँदैन भन्ने मान्यतालाई च्यातिएको छ । प्रगतिशील विवाहले मान्यता पाएको छ । त्यसैले सामाजिक सांस्कृतिक रूपान्तरणको कथा पनि ऐँठनमा समेटिएको छ ।
व्यवस्था बदलिएको तर अवस्था नबदलिएको बस्तीको पनि कथा हो ऐँठन । जनजीविकाका सवालहरू सम्बोधन हुन सकेका छैनन् । जुन बस्ती र योद्धाको सहभागितामा परिवर्तन भयो ती ओझेलमा छन् । अभाव, गरिबीले दैनिकी निकै कष्टकर छ । आफ्नो नेतृत्वको रक्षाको प्रयास कार्यकर्तामा छ तर अनुभूति बिनाको । आदर्शले भरिएको खोक्रो जस्तै । यद्यपि परिवर्तनको अनुभूति हुने आशा र भरोसा भने मरिसकेको छैन ।
कथावस्तु
कथाको मुख्य पात्र बबन हो । युद्धको दोहोरो मारमा परेको छ । परिवारसमेत गुमाए पनि भोग्नुसम्म युद्धको पीडा भोगेको छ । उसका कहाली लाग्दा चीत्कारपूर्ण भोगाइहरू ऐँठन बनेका छन् । ऊ अस्पतालको शय्यामा छ । हरपल ऊ बम र बारुद देख्छ । अस्पतालका भित्ताहरू पनि रक्ताम्मे देख्छ । चिल र गिद्धको साम्राज्यले घेरे जस्तो लाग्छ । बबन जस्तै चन्द्रकला पनि अस्पतालको बेडमा छ । चन्द्रकला पनि युद्ध पीडित हो । सायद त्यही भएर भन्छे ‘मैँले सङ्गत गरेको मान्छे कुनै जन्ममा सैनिक भएको नहोस्’।
एक वृद्ध आइमाई सोरा पनि हस्पिटलमै छ । घर जापान हो । दोस्रो विश्वयुद्ध र हिरोसिमामा बम खसालेको घटनाले उसको मन विक्षिप्त छ । बम खसाल्दा नुहाउन नदीमा डुबेका कारण ऊ मात्र बाँच्न सकेकी हो । एक दिन सोरासँग रहेको एडोल्फ हिटलरले लेखको पत्र बबनले पढ्छ । त्यो प्रेम पत्र नभए त्रासदी पत्र थियो । अक्षर ढुङ्गा जस्ता ग्रहौं र फलामभन्दा साह्रा थिए । युद्धले निम्त्याएको चित्कार कहाली लाग्दो थियो । चाहे त्यो हिरोसिमाको बम काण्ड होस् चाहे त्यो नेपालको युद्ध ।
उर्मिला र प्रल्लाद बबनका श्रीमती र छोरा हुन् । बबन, उर्मिला र प्रल्लाद बेलुकी खाना खाइसकेपछि भान्सामा गफिँदै थिए । एकाएक भयङ्कर विष्फोटको आवाज आयो । छापामार र सेनाको दोहोरो भिडन्त थियो । अन्धाधुन्ध हानेको गोली घरभित्रै छिर्यो । उर्मिला ढली । बबनको होस् हवास उड्यो । प्रल्लादलाई पनि गोली लाग्यो ।
स्वास्थ्य चौकी पुर्याउने र आमा छोरा बचाउने प्रयास बबनले गर्यो । गोली, बारुद र हेलिकप्टरको ताण्डव निकै थियो । आमा छोरा लिँदै गर्दा बाटोमा छापामारसँग भेट भयो । केरकारमा पर्यो । मुटुको धड्कन नसा नाडी छामछुम पार्दा उर्मिला मरिसकेकी थिई । प्रल्लादको अवस्था अन्तिम थियो । केही बेरमा उसले पनि प्राण त्याग्यो । तर बबनलाई प्राण त्यागेको पत्यार थिएन । स्वास्थ्य चौकी पुर्याए बचाउन सकिने आशामा थियो । मरेको लास बोकेर विलाप गर्दै हिँडेको थियो । छापामारले लास लगेर चिहानमा पुरिदिए ।
बबनले मेरो छोरो बाँच्छ उसलाई नपुर भन्दै रोई कराइ गर्यो । आक्रोशित हुँदै छापामारलाई मेरी उर्मिलालाई कहाँनिर पुरिस् ? भन्दै कराउन थाल्यो । त्यो ठाउँ नभनेसम्म बाटो छोड्दिन, माँ टोक्नेहरू, कहाँ पुर्यौ मेरा मुटुका टुक्रालाई ? कहाँ पुर्यौ मेरो भविष्य ? भन्दै गाली गर्न थालेपछि बबिन छापामारको कब्जामा पर्यो । छापामारका लात र मुक्का खाँदै बन्दी जीवन जिउन बाध्य भयो । खुट्टा भाँच्छन् कि ढाड ? जिउँदै छाड्लान् कि नाइँ जस्ता अनगिन्ती तरङ्गले उसको मन अस्थिर थियो ।
बबनसँगै बन्दीमा एक युवक र एक महिला समेत थपिए । टोली कालीमाटी पुग्यो । डम्मर कमरेडले गाउँमा सेनाले दिएको दु:ख र संयोगले बाँचेको बताए । कमान्डर शशिले साहस र स्वाभिमानका लागि ऊर्जा प्रदान गर्दै हिँडेको थियो । बबनले पटक पटक भाग्ने प्रयास गर्यो तर भाग्न सकेन । शोषक र सामन्ती राज ढाल्ने अनि गरिबीको खाडल पुर्ने अभियानमा लाग्न शशिले प्रशिक्षित गरेको थियो । शशिले भन्यो ‘मास्टर हामी कसरी आतङ्ककारी ? तिनीहरू शानसँग हेलिकप्टरमा आए । अन्धाधुन्ध गोली चलाए । जनता मरे । के तिनीहरू आतङ्ककारी भएनन् ? हाम्रो लडाइ त समानताका लागि हो । गरिबको हकको लागि हो ।
गाउँमा सेनाले गोली हानेर एक युवकको हत्या गरेको छ । ३०/३२ बर्सिया महिला विधवा बनी । सेतो पहिरन लगाएकी उनीलाई रातो पहिरन लगाउन शशिले प्रेरित गर्यो । सेता कपडा च्यातचुत गरी मिल्काइदिई । राता कपडा लगाइ । श्रीमान् हत्या गर्नेका विरुद्ध डटेर लड्ने प्रण गर्छे र युद्धमा होमिई । गाउँमा छापामारका कठोर कारवाहीहरू पनि चलिरहेका थिए । बन्दी बबन पनि मृत्यु पर्खेर बसेको थियो ।
बिचबिचमा विषयवस्तु अस्पतालको पनि छ । बबन अस्पतालमा चन्द्रकलाको कोठामा जान्छ । अकस्मात् उसको डायरीका पाना पल्टाउँदा नौरङ्गी माछाको कथा भेट्छ । जो चन्द्रकलाको जीवनको भोगाइ थियो । यातना र बलात्कारको चित्कार पनि । समग्रमा युद्धमा सेनाले गरेको ज्यादतीको प्रतिविम्ब थियो ।
छापामारको टोली निगालचुलाको लेकाली बस्तीमा पुग्यो । कमान्डर हिमालले एउटी बुढी आमाको घरमा बबन सहितका बन्दीलाई छोड्छ । उसले भन्छ ‘आमा, यिनहरूलाई पानी बाहेक केही नदिनू, बुझ्नुभयो ? एक जना बन्दी प्रहरी पेट भरी खाना दिनुहोस् भनेर चिच्यायो । बुढी आमाको मानवीयताले आदेशको प्रवाह गरेन । बुढी आमाको मनले मानेन पेट भरी मकैको रोटी खाना दिइन् । कुभिन्डे दहको उत्पत्ति बारे बुढी आमाले किंवदन्ती सुनाउँछिन् । सोही क्रममा मानिसहरू धन थुपार्ने ध्येयमा करुणा, दया र माया थुपार्न बिर्सेको प्रसङ्ग उल्लेख गर्छिन् । उनी भन्छिन् ‘यो धर्ती पनि कुनै मत्स्य संसार भन्दा कम छैन । यहाँ मान्छेले मान्छेले मान्छेलाई लुछिरहेको छ । चपाइरहेको छ । निलिरहेको छ’ ।
छापामार टोली रेडियोमा सेनाले हत्या गरेको खबर प्रसारण भएपछि थप आक्रोशित भयो ।बन्दी प्रहरी त्यसको मारमा पर्यो । लामो यातनाबाट उसले प्राण त्याग्यो । चरम यातना र हत्याका शृङ्खलाहरू निरन्तर चले । परपुरुषसँग रङ्गे हात फेला परेका, छुवाछुतजन्य विभेद गर्नेहरू पनि बन्दीका रूपमा थपिँदै गए । गोकुल स्वास्नी कै उजुरीमा रुकुमबाट समातिएको थियो । प्रशिक्षणबाट प्रभावित भएर छापामार बन्यो । ठाउँ ठाउँमा कमान्डरहरू बदलिरहेका थिए । पछिल्लो समयका कमान्डर राकेश खुब मिलनसार र मायालु थिए ।
छापामारको टोली अगाडि बढ्ने क्रम जारी छ । जर्बुटामा सुराकीको आरोपमा घरमा झुन्डाएर मारेको थियो । छापामारसँग बाझेपछि तीन जना युवाको गला रेटिएको प्रसङ्ग गाउँमा थियो । सरकारी बिल्लाधारीले स्वास्नी र नाबालिग छोरीलाई सिनो झैँ लुछेको सुनेपछि एक छापामारले आत्महत्या गर्न बाध्य समेत भएका छन् ।
विध्वंस र चित्कारको साम्राज्य जन्मिन्छ । मुलुकको शासन व्यवस्था फेरियो जनताको अवस्था फेरिएको अनुभूति दिलाउन जरुरी छ । अब चीत्कारपूर्ण कहालीलाग्दो युद्धको सामना गर्न नपरोस् । त्यसका लागि द्वन्द्वको दिगो व्यवस्थापन आवश्यक छ । विकास र सुशासन मार्फत दिगो शान्ति र अमन चयन काम गर्न जरुरी छ ।
छापामारहरू भीषण आक्रमणको तयारीमा थिए । विभिन्न ठाउँबाट जम्मा हुने क्रम जारी थियो । आक्रमणको व्यापक तयारी थियो । हतियारको आँखा र हृदय हुँदैन । समयसँग पनि दया गर्ने मुटु हुँदैन । युद्ध उप्रान्तको सन्नाटा भने मौन रहने अवस्था थिएन ।
अछामको सदरमुकाम मङ्गलसेन कब्जा सुरु भयो । सयौँ सङ्ख्यामा सेना र प्रहरीहरू हताहत भए । कयौँ घाइते भए । कार्यालयहरू ध्वस्त भए । धुवा मडारियो कुहिरो जस्तै । चीत्कारपूर्ण अवस्था र विजय उत्सव सँगसँगै भइरहेको थियो । हेलिकप्टरहरू आकाशमा बम बारुदको वर्षा गर्ने प्रयासमा थिए । प्रयास असफल भइरहेको थियो । छापामार सशक्त कमान्डर शशि घाइते थियो । उपचारको प्रयास भयो । तर सम्भव भएन । अन्त: वीरगति प्राप्त गर्यो ।
मङ्गलसेन कब्जापछि छापामार टोली अगाडि बढ्यो । गाउँमा सेनाको चरम यातना थियो । कोही घाइते थिए । महिलाहरू बलात्कृत भएका घृणित अमानवीय घटनाहरू छरपस्ट थिए । बस्तीहरू कहाली लाग्दा थिए । मानवता हराएको थियो । मानव व्यवहार पशु तुल्य थियो ।
ऐँठन न हो । लामो समयपछि बबनको संवाद मरेर गाडिएकी उर्मिलासँग हुन्छ । सपना हो वा बिपना छुट्टाउन सकेको छैन । रातो कलमले लेखेको ९८६८७५४३४३ नम्बरको फोन नम्बर र सिजोफ्रेनियाँ ठेगाना उल्लेखित चिट फेला पार्छ । श्रीमती उर्मिला र छोरा प्रल्लादको खोजीमा भौतारिदै हिँड्छ । जहाँ एउटा बस्ती रातो हिउँ पर्छ । विगत युद्धमा होमिएका सबै कमरेडहरू बसोबास गर्दै आएको बस्ती । हेलिकप्टर चढेर आफ्नो नेता आउने खबरले निकै खुसीयाली छाएको छ । बस्तीमा चरम अभाव र गरिबी छ । नेतृत्वप्रतिको आशा र विश्वास भने कायमै रहेको छ ।
बबन छापामारसँगै रामारोशन पुग्छ । त्यहीबाट उसलाई छुटकारा मिल्यो । साँफेबगरबाट गाडी चढ्ने गरी केही यातायात खर्चसहित बबन त्यसतर्फ प्रस्थान गर्यो । बसमा चढेर नेपालगञ्ज हुँदै दाङ् शान्तिनगर पुग्ने उसको योजना थियो । बस हिँडेको केही समयमै सेनाको केरकारमा पर्यो । हातको कुनिहाँ र घुँडा जाँचपछि छापामारको शंकामा पर्यो । छापामार नभएको पुष्टि गर्ने कयौँ प्रयास असफल भए । आँखामा पट्टी बाँधेर सेनाको गाडीमा राखेर ब्यारेक तिर लगियो । सुरुमा बबन बसेको बस समेत एम्बुसमा परेर क्षतविक्षत भयो । धेरैको ज्यान गयो । कयौँ घाइते भए ।
अमानवीय रूपमा शौचालयमा बबनलाई सेनाले कोच्यो । अर्ध होस अवस्थामा मात्र निकाली स्थानान्तरण समेत गरियो । बाँकेको सैनिक क्याम्पमा कयौँ यातनाको सामना गर्यो । आठ लाख सेनाको क्याप्टेनलाई बुझाउन सके छुटकारा पाउने चेष्टा समेत गर्यो तर सम्भव भएन । बननले भन्यो, ‘जीवनको मूल्य हुँदैन कसले भन्यो ? जीवन जोखिने काँटामा नपरेसम्म मात्रै हो, जीवनको मूल्य नहुने । तत्कालै मेरो जीवनको मोल तोकियो क्यारे । मेरो भएभरको सम्पत्तिभन्दा लगभग दोब्बर’ । बबनसँगै समातिएको युवकको सेनाको क्रूर यातनाबाट ज्यान समेत गयो । सैनिक ब्यारेकमा केटी, युवती वा महिलालाई पालैपालो बलात्कारको सिकार हुनुपरेको छ । लट्ठी समेत संवेदनशील अङ्गमा कोचेर यातना दिएको छ । जो निकै नीच, क्रूर र अमानवीय थियो ।
बबन सहितका बन्दीलाई सेनाले जङ्गमा लगेर मार्ने गर्यो । जङ्गलको बिचमा आँखामा पट्टी बाँधेर लगियो । ‘अब तिमीहरू भाग बाँच्ने भए’, सेना करायो । त्यही मौकामा गोली हान्ने षडयन्त्र थियो । कोही भाग्ने आँट गरेनन् । अन्तिम समयमा बबनले निकै जोखिम उठायो । रुखका फेदमा छलिँदै गोलीको प्रवाह नगरी भाग्यो । संयोगले कसैगरी भेट्न सकेनन् । थकानले ओठ मुख सुकेको अवस्थामा बसमा चढेर दाङ पुग्ने योजनामा थियो । सिट नपाएर ग्यालरीमा उभिएको बबनलाई फेरि चढी भने जङ्गलमै गाडिदिन्छु भन्दै खलासीले निकालिदियो । बस हिँडेकै बाटो पाइला पाइलामा आँसु पुछ्दै बबन अगाडि बढ्यो । उसलाई दाङ शान्ति नगर पुग्नु छ ।
निष्कर्ष
युद्ध र आगो उस्तै हुन् । जसरी आगोले सुकेको पनि जलाउँछ । काँचो पनि जलाउँछ । त्यसै गरी युद्धमा पनि मानवीयता हराउँछ । विध्वंस र चित्कारको साम्राज्य जन्मिन्छ । मुलुकको शासन व्यवस्था फेरियो जनताको अवस्था फेरिएको अनुभूति दिलाउन जरुरी छ । अब चीत्कारपूर्ण कहालीलाग्दो युद्धको सामना गर्न नपरोस् । त्यसका लागि द्वन्द्वको दिगो व्यवस्थापन आवश्यक छ । विकास र सुशासन मार्फत दिगो शान्ति र अमन चयन काम गर्न जरुरी छ । सत्य निरूपण तथा मेलमिलाप आयोगले बाँकी कार्यभार पूरा गरोस् । सहिद परिवार, घाइते अपाङ्गता भएका योद्धाहरूको आत्मसम्मान र स्वाभिमानका लागि विशेष कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।