Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद स्मृति मेलामा आयोजित खेलकुद सम्पन्न, पुरूष भलिबलमा सानीभेरी ३ प्रथम
पुरूष भलिबलमा प्रथम सानीभेरी गाउँपालिका वडा नम्बर ३ काे भलिबल टाेली ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मा भएको भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ । हरेक वर्ष लाग्दै आएको सहिद स्मृति मेलाको अवसरमा खुला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबलका साथै पुरुष ब्याडमिन्टन सञ्चालन भएका थिए । कात्तिक १० देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । 

रुकुम पश्चिमका २० टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबलमा सानीभेरी गाउँपालिका वडा नम्बर ३ प्रथम भएको छ । आज भएको फाइनलमा सानीभेरी गाउँपालिका ४ लाई पराजित गर्दै सानीभेरी ३ प्रथम भएको हो । प्रथम भएको सानीभेरी ३ ले नगद एक लाख दश हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो भएको सानीभेरी ४ ले नगद ७० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाएको मेला व्यवस्थापन समितिका संयोजक हरिबहादुर खत्रीले जानकारी दिनुभयो । यस्तै तेस्रो भएको बाँफिकोट ३ ले नगद ४५ हजारको साथमा कप मेडल र प्रमाण पत्र पाउँदा सान्त्वना भएको आयोजकले नगद २५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । 

रुकुम पूर्व र पश्चिमका ११ टिमको सहभागिता रहेको महिला भलिबलमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ प्रथम भएको छ । आजै भएको फाइनलमा बाँफिकोट २ लाई पराजित गरेर बाँफिकोट ४ प्रथम भएको हो । प्रथम भएको बाँफिकोट ४ ले नगद ३० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र हात पारेको छ भने दोस्रो भएको बाँफिकोट २ ले नगद २० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाएको छ । सेमिफाइनलमा पुगेका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ र आयोजकले समान दश/दश हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाएको खेलकुद समितिले जानकारी दिएको छ । 

पुरुष ब्याडमिन्टन भने यस अघि नै सम्पन्न भई सकेको छ ।  ब्याडमिन्टन प्रतियोगितामा रबि केसी र मुस्कान केसीको जोडी पहिलो भएको छ । साेमबार नै भएको फाइनलमा खिम खनाल र अनमोल पुनको जोडिलाई पराजित गर्दै रबि केसी र मुस्कान केसीको जोडी विजेता भएको हो । विजेता जोडिले नगद २५ हजारको साथमा मेडल र प्रमाण पत्र पाएको छ । यस्तै उपविजेता बनेको खिम खनाल र अनमोल पुनको जोडिले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउँदा सेमिफाइनलमा पुगेका खुबी शाही र जगदिश पुरी तथा विमल शाही र धनबहादुर बोहराको जोडीले समान पाँच/पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाएका छन् ।

आयोजकले मेलामा झाकी सहित सांस्कृतिक प्रस्तुति देखाउने पाँच समूहलाई नगद सहित सम्मान गरिएको छ । प्रत्येक समूहलाई समान पाँच/पाँच हजार रुपैयाँले सम्मान गरेको संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा सांस्कृतिक प्रस्तुति देखाउने दश ओटा बाल क्लब र मेलालाई विभिन्न सहयोग गर्ने एक सय जनालाई सम्मान समेत गरिएकाे बताइएकाे छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update