Kakhara सबैको खबर सम्पूर्ण खबर
बेल्टापु मेलामा विभिन्न खेलकुद प्रतियोगिता हुने 
फाइल फाेटाे ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा लाग्दै आएको परम्परागत मेला बेल्टापुको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । बेल्टापु मेला व्यवस्थापन समिति सानीभेरी गाउँपालिका ३ ले मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको जानकारी गराएको छ । मेला यो वर्ष कार्तिक ३० गते देखि मङ्सिर ४ गतेसम्म लाग्ने छ । ३० गते देखि खेलकुद प्रतियोगिता सुरु हुने आयोजकको भनाई छ । आयोजकका अनुसार महिला पुरुष खुला भलिबल, खुला ब्याडमिन्टन, फुटबल र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको छ ।

भलिबल अन्तर्गत पुरुष तर्फको विजेताले नगद १ लाख २५ हजार, उपविजेताले नगद ७५ हजार र सान्त्वना हुने दुई टिमले ३०–३० हजार पुरस्कार पाउने छन् । दर्ता शुल्क १० हजार राखिएको छ । महिला तर्फको विजेताले नगद ६० हजार, उपविजेताले नगद ४० हजार र सान्त्वना हुने दुई टिमलाई समान १५–१५ प्रदान गरिने आयोजक बेल्टापु मेला व्यवस्थापन समितिका अध्यक्ष सुशीले खड्काले जानकारी दिनुभयो । दर्ता शुल्क ६ हजार रहेको छ । फुटबलको विजेताले २० हजार, उपविजेताले १५ हजार र सान्त्वना हुने दुई टिमले समान २–२ हजार पुरस्कार पाउने अध्यक्ष खड्काले बताउनुभयो । फुटबलको दर्ता शुल्क ४ हजार रहेको छ । 

त्यस्तै स्लो बाइक रेस प्रतियोगिताको प्रथम पुरस्कार १० हजार, दोस्रो पुरस्कार ७ हजार र तेस्रो पुरस्कार ४ हजार तथा दर्ता शुल्क १ हजार राखिएको छ । सबै पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक बेल्टापु मेला व्यवस्थापन समितिका सचिव विनोद केसीले जानकारी गराउनुभयो । खेल शुद्ध वडा स्तरीय हुने उहाँको भनाई छ । सबै खेलमा सहभागिताका लागि कार्तिक ३० गते साँझ ५ बजेसम्म टिम दर्ता गराउने सकिने उहाँले बताउनुभयो ।

उद्घाटनको दिन विभिन्न झाँकीहरू, मयूर नाच, आमा समूह, र अन्य नाचहरूलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।। 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update