Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रथम त्रिवेणी गोल्ड कप फुटबलको उपाधि आयोजक `ए´ लाई 

प्रथम त्रिवेणी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी यूथ क्लब `ए´ ले हात पारेको छ । कार्तिक १२ गत्ते त्रिवेणी गाउँपालिकाको झुल्नेटा स्थित दहबाङ खेलमैदानमा उद्घाटन भई सञ्चालन गरिएको प्रथम त्रिवेणी गोल्ड कप तथा विविध सांस्कृतिक कार्यक्रम बुधवार सम्पन्न भएको हो । फाइनल  त्रिवेणी यूथ क्लब ए र नमस्ते श्रीनगर व्वाइजका बिचमा भएकामा आयोजक १-० ले विजयी भयो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको अतिरिक्त समयको अन्तिममा त्रिवेणी यूथ क्लब ए का स्ट्राइकर नुरेश पुनले हेड मार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन् । 

विजेता समूहले नगद ८० हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेताले नगद ४० हजार र मेडल प्रमान पत्र प्राप्त गरेको छ । प्रतियोगिताको वेस्ट प्लेयर नमस्ते श्रीनगर व्वाइजका निशान डाँगी घोषित भए । त्यस्तै अन्य व्यक्तिगत विधा तर्फ वेस्ट गोलकिपर त्रिवेणी यूथ क्लब 'बि' का बादल सिंह, सर्वाधिक गोल कर्ता एफसी सल्लेका राजन बि.क. बने । उनले ४ गोल गरेको खेलकुद संयोजक जीवन ओलीले जानकारी दिनुभयो । 

सांस्कृतिक कार्यक्रम अन्तर्गत एकल नृत्य प्रतियोगितामा त्रिवेणी ६ की भूमिका पुन प्रथम, त्रिवेणी ३ की सुधा ओली द्धितिय र बागचौर नगरपालिका ७ का प्रेम डाँगी तृतीय भएका छन् । उनीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गरेको त्रिवेणी यूथ क्लबका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । कार्यक्रमको समापन समारोहमा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update