Kakhara सबैको खबर सम्पूर्ण खबर
बिक्री नहुँदा रुकुम पश्चिममा १४ मेट्रिक टन प्याजकाे बिउ थन्कियाे
मुसिकाेट ६ का बिउ संकलक भिमबहादुर बाेहराकाेमा थन्किएकाे प्याजकाे बिउ ।

रुकुम पश्चिममा ठुलो मात्रामा प्याजको बिउ थन्किएको छ । बजार नपाउँदा जिल्लाभरमा गरेर करिब १४ मेट्रिक टन प्याजको बिउ थन्किएको कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । अहिलेको बजार मूल्य अनुसार करिब साढे ५६ लाख मूल्य बराबरको बिउ थन्किएको हो । जिल्लाका मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा गरी १४ मेट्रिक टन रेड क्रियोल जातको प्याजको बिउ बिक्री हुन नसेकेको उहाँले बताउनुभयो । ठुलो मात्रामा बिउ बिक्री नहुँदा किसानहरू चिन्तित बनेका छन् । गत वर्ष राम्रो मूल्य र बजार पाएर हौसिएका किसानहरू यो वर्ष भने निराश बनेका छन् । बिउ बिक्री नहुँदा करिब साढे ३ सय बिउ उत्पादक किसानहरू चिन्तित छन् ।

मुसिकोट ६ का बिउ सङ्कलक भिमबहादुर बोहराले आफूसँग मात्र करिब १० क्विन्टल बिउ बाँकी रहेको जानकारी दिनुभयो । करिब २५ क्विन्टल बिउ भने बिक्री गरेको उहाँले जानकारी गराउनुभयो । ‘किसानबाट सङ्कलन गरेको करिब २५ क्विन्टल बजारमा पठाइसकेँ, अब १० क्विन्टल जति गोदाममा थन्किएको छ र अझै ८ क्विन्टल जति बिउ घरमै थन्किएको छ, उहाँले भन्नुभयो–किसानले बारम्बार बिक्री गरिदिनुपर्‍यो भन्छन्, तर बजारमा माग नै छैन कहाँ लिएर बेच्नु ।’ आफूसँग १ सय १० किसानको बिउ रहेको र अझै ३० बढी किसानसँग घरमै बिउ थन्किएर रहेको उहाँको भनाई छ । बिउ थन्काएर राख्दा एकातिर बजारको चिन्ता छ भने अर्कोतिर मूल्यको समेत चिन्ताले किसानहरूलाई सताइरहेको छ । समयमा बिक्री नहुँदा बिउँ बिग्रिने चिन्तामा समेत किसानहरू छन् । 

गत वर्षको तुलनामा ७ गुणा कम मूल्यमा पनि बिकेन बिउ
गत वर्ष किसानले प्याजको बिउको राम्रो मूल्य पाएका थिए । किसानले गत वर्ष प्रतिकिलो ३ हजार ५ सयसम्म मूल्य पाएकामा यो वर्ष त्यसको ७ गुणा कम मूल्यमा पनि बजार पाउन सकेका छैनन् । यो वर्ष बिउले ४ देखि ५ सयसम्म मूल्य पाएको छ । यो मूल्यमा करिब १५ सय मेट्रिक टन प्याजको बिउ बिक्री भइसकेको कृषि विकास कार्यालयका प्रमुख केसीले जानकारी दिनुभयो । यो बिउँ काठमाडौँ, पोखरा, धनगढी, महेन्द्रनगर, दाङ, नेपालगन्ज लगायतका ठाउँमा पठाइएको बताइएको छ । किसानहरू लागत मूल्य भन्दा निकै कममा बिउ बेच्न बाध्य भएको केसीको भनाई छ । प्रतिकिलो प्याजको बिउ उत्पादनका लागि करिब १५ सय लागत लाग्ने गरेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यो वर्ष धेरै बिउँ उत्पादन हुँदा मूल्य घटेको जानकारी उहाँले दिनुभयो । 

बढी बिउँ उत्पादन हुनु समस्या  
गत वर्ष जिल्लाबाट १४ मेट्रिक टन प्याजको बिउ बिक्री भएको थियो । उत्पादन पनि यति नै भएको थियो । कमै बिउँ भएका कारण किसानले राम्रो मूल्य पनि पाए । गत वर्षकै मूल्यलाई हेरेर धेरै किसान प्याजको बिउ उत्पादनमा लागेपछि यो वर्ष गत वर्षको भन्दा दोब्बर बढी बिउँ उत्पादन भएको कृषि विकास कार्यालयको भनाई छ । यो वर्ष बिउले मूल्य र बजार नपाउनुमा यही कारण मुख्य रहेको प्रमुख केसी बताउनुहुन्छ । ‘राम्रो आम्दानी हुने देखेपछि अन्धाधुन्ध प्याजको बिउँ लगाइयो, फलस्वरूप प्रशस्त उत्पादन भयो, त्यसपछि बिउले बजार र मूल्य दुवै पाएन,’ उहाँले भन्नुभयो । 

बिउ बिक्रीका लागि पहल भइरहेको छ 
जिल्लामा थन्किएको बिउ बिक्रीका लागि पहल भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा मौज्दात रहेको बिउका बारेमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जानकारी गराउने देखि व्यापारीहरूलाई अनुरोध गर्नेसम्मका काम भइरहेको कार्यालय प्रमुख केसीले जानकारी गराउनुभयो । उहाँका अनुसार मन्त्रालयले पनि बिउ बिक्रीका लागि पहल गर्ने आश्वासन दिएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update