शुक्रवार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आठबीसकोट नगरपालिकामा १८ जना र सानीभेरी गाउँपालिकामा ९ जनाको पुष्टि भएको हो । क्षतिको थप विवरण सङ्कलन भइरहेको उहाँले जानकारी गराउनुभयो ।
मृत्यु हुनेमा १२ महिला र १५ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा आठबीसकोट नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, सोही वडाका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय वासु बुढा, सोही ठाउँकै ३० बर्सिया अमृता जैसी, ५ बर्सिया भावना जैसी, २ वर्षीय दिनेश जैसी, वडा नम्बर १४ कै १२ बर्सिया सरिता बिक, १४ कै १३ वर्षीय मदन गौतम, सोही वडाकै ८३ वर्षीय करे नेपाली रहेका छन् । वडा नम्बर ११ गोइरीका ३५ बर्सिया शिला कामी, १३ बर्सिया सृजना कामी, ९ वर्षीय रिया कामी, ६ वर्षीय दीपा कामी, ४ बर्सिया आशा कामी, १८ बर्सिया एलिशा कामीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रुकुम पूर्व घर भई आठबीसकोट नगरपालिका १४ मा कामका लागि आएका ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई कामको सिलसिलामा वडा नम्बर १४ छेपारे आएका ४७ वर्षीय खड्क बिक र बर्दियाकै ३६ वर्षीय अनिल बिक रहेको प्रहरीको भनाई छ । यता सानीभेरी गाउँपालिका वडा नम्बर २ परियार टोलकी १२ बर्सिया मनिषा परियार, वडा नम्बर १ चाइनाबगर ३१ वर्षीय धनविर पुन, सोही ठाउँकै २८ बर्सिया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिने रेजन ओली, वडा नम्बर ४ का ८ वर्षीय निर्जल चन्द, सोही ठाउँकै २५ बर्सिया सकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियार रहेको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
भूकम्पमा परी ५३ जना घाइते भएको प्रहरीले जनाएको छ । जसमा महिला २६ र पुरुष २७ जना रहेका प्रहरीले जनाएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।