Kakhara सबैको खबर सम्पूर्ण खबर
घाइतेको अवस्था बुझ्न प्रधानमन्त्री जिल्ला अस्पताल सल्लेमा
जिल्ला अस्पालमा प्रधानमन्त्री ।

भुकम्पमा परी घाइते भएको अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जिल्ला अस्पताल रुकुम पश्चिमको सल्ले पुग्नुभएको छ । गयराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावित क्षेत्रको अुगमन, अवलोकन र घाइतेको उद्धार तथा उपचारका बारेमा बुझ्न र आवश्यक निर्देशनका लागि प्रधानमन्त्री जाजरकोट र रुकुम पश्चिमका विभिन्न ठाउँमा पुगिरहनुभएको छ ।

आज बिहानै पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित विभिन्न ठाउँमा पुगिसक्नुभएको छ । त्यसक्रममा उहाँ जिल्ला अस्पताल सल्लेमा पुगेर उपचाररत घाइतेको अवस्था बुझ्नु भएको छ । उहाँले घाइतेको अवस्था बुझ्नुका साथै स्वास्थ्यकर्मीहरुलाई उपचारमा विशेष ख्याल गर्न आग्रह समेत गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले उपचारमा कुनै कसर बाँकी नराख्न र नसकेको अवस्थामा तत्कालै रिफर गर्न भनेको जिल्ला अस्पतालका डाक्टर केहलविक्रम जिसीले जानकारी दिनुभयो ।

‘सकेको जति जिल्लामै गर्नुहोस, नसकेको अवस्थामा रिफर गरिहाल्नुहोस, सरकारले सबै घाइतेको निःशुल्क उपचार गर्छ, हेलिकोप्टर र प्लेनको व्यवस्था गरेर लैजान्छौं, भन्नुभएको छ, डाक्टर जिसीले भन्नुभयो ।’ जिल्ला अस्पतालमा अहिले १८ जना घाइतेको उपचार भइरहेको छ । यसअघि १० जनालाई नेपालगञ्ज रिफर गरिएको र अब ६ जनालाई रिफर गर्ने तयारी भइरहेको डाक्टर जिसीले बताउनुभयो । ५ जनालाई भने अस्पतालले डिस्चार्ज गरिसकेको छ । जिल्ला अस्पतालमा सानीभेरी गाउँपालिकाका घाइतेहरु रहेको अस्पतालले जनाएको छ । 

प्रधानमन्त्री संगै प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर पनि हुनुहुन्छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update