Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावितका लागि सरकारले भोली निर्णय गर्छ: प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुम र जाजरकोटको साथमा सिंगाे राष्ट्र रहेको बताउनुभएको छ । भूकम्प प्रभावित क्षत्रको अवस्थाबारे बुझ्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले दुःखको यस घडीमा सिङ्गो देश रुकुम र जाजरकोटको साथमा रहेको बताउनुभयो । उहाँले भूकम्प प्रभावितका लागि सरकारले भोली नै निर्णय गर्ने पनि जानकारी गराउनुभयो ।

भूकम्प पीडितहरुसंगको भेटघाटका क्रममा उहाँले भोली बिहान आकस्मिक मन्त्री परिषद्को बैठक डाकिएको र उक्त बैठकले रुकुम र जाजरकोटका भूकम्प प्रभावितका लागि निर्णय गर्ने आश्वासन दिनुभयो । राहत तथा पुनर्निर्माणका विषयमा उक्त बैठकबाट निर्णय लिइने उहाँले बताउनुभयो । त्यस्तै उहाँले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । ‘तपाइहरू ढुक्क हुनुहोस्, तपाइहरूको उपचारमा सरकारले कुनै कसर बाँकी राख्दैन, घाइतेहरूलाई उहाँले भन्नुभयो–हेलिकोप्टर, जहाज जे सम्भव हुन्छ त्यसैबाट उद्धार गरेर उपचार गरिन्छ ।’

यो विपत्तिमा अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । ‘रुकुम जाजरकोटका भूकम्प प्रभावितका लागि के गर्न सकिन्छ हामी तयार छौँ भनेर विभिन्न देशका राजदूतहरूले भनिरहनुभएको छ, अब अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ, उहाँले भन्नुभयो ।’ प्रधानमन्त्री प्रचण्डले दुःखको यस घडीमा धैर्य धारण गर्न र उद्धार तथा राहतमा खटिन सबै सरोकारवालालाई अनुरोध पनि गर्नुभयो । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update