शुक्रवार मध्यरातमा जाजरकोट केन्द्र बिन्दु भएर आएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति गरेको छ । अहिलेसम्म दुई जिल्लामा गरी डेढ सय बढीले ज्यान गुमाइसकेका छन् । धेरै जना घाइते भएका छन् । केहीको जिल्लामै र केहीलाई थप उपचारका लागि सुर्खेत, नेपालगन्ज लगायतका ठाउँमा रिफर गरिएको छ । भूकम्पका कारण गाउँहरू खण्डहरमा परिणत भएका छन् । प्राय कच्ची घरहरू ध्वस्त भएका छन् ।
शनिवार कखरा टिम रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगर हुँदै जाजरकोटको रिम्ना भएर रुकुम पश्चिमकै आठबीसकोट नगरपालिका पुग्दा करिब ८० प्रतिशत घर ध्वस्त भएको भेटिएका छन् । बाँकी घर पनि चर्किएर बस्न नमिल्ने अवस्थामा रहेका छन् । पक्की घरमा भने खासै ठुलो क्षति नभएको पाइएको छ । आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीका अनुसार नगरका २ हजार घर बस्नै नमिल्ने र अन्य ४ हजार घर चर्किएका छन् । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले गाउँपालिकाका ५१ प्रतिशत घरमा क्षति पुगेको छ । भूकम्पका कारण क्षतिग्रस्त संरचनाहरू हेर्नुहोस् ।