Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक महिनाको तलब भूकम्प पीडितलाई सहयोग गर्ने  
आठबीसकाेट नगरपालिका १४ छेपारेका भूकम्प पीडित ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको तलब भूकम्प प्रभावितका लागि सहयोग गर्ने भएका छन् । शनिवार बसेको नगर कार्यपालिका बैठकले भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाले तत्कालका लागि मृत्यु भएका परिवारलाई २५ हजारका दरले क्रिया खर्च उपलब्ध बनाउने समेत नगर कार्यपालिका बैठकले निर्णय गरेको छ।

यसका साथै उप प्रमुख धनकुमारी शाहीको संयोजकमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति निर्माण गरिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । यो कठिन परिस्थितिमा आआफ्नो ठाउँबाट राहत तथा उद्धार कार्यमा सहयोग गर्न उहाँले सबैलाई अनुरोध गर्नुभएको छ । नगरपालिकामा मानवीय र भौतिक संरचनामा ठुलो क्षति पुगेकाले दातृ निकाय, सङ्घ संस्थालाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको हो । शुक्रवार राती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परि आठबीसकोटमा ४२ जनाको मृत्यु भएको छ । पहिलो चरणको उद्धार कार्य सकिएको र आजबाट भने राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update