रुकुमको सिस्ने गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शान्तेबहादुर विक जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको छ । जनप्रतिनिधि भएपछि विभिन्न क्षेत्रमा योगदान पुर्याएकाे भन्दै उहाँलाई राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनसेवा श्री पदकबाट सम्मान गर्नुभएको हो ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ गतेको निर्णयबाट विभूषण प्रदानका लागि ४ सय ५० जनालाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन सकेको थिएन । त्यतिबेलाका सबैलाई अहिले सम्मान गरिएको हो । जस अनुसार वडा अध्यक्ष विक पनि आज सम्मानित हुनुभयो ।
बिक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । निर्वाचित भएदेखि जनताको सेवामा रहेको उहाँले बताउनुभयो । आफुले निरन्तर जनताको काम गरिरहेको र यो सम्मानले थप हौसला थपेको सम्मान ग्रहणपछि वडाध्यक्ष विकले प्रतिक्रिया दिनुभयो ।