शुक्रवार रात छिप्पी सकेको थियो । घडीको सुईले रातको ११ः४७ बजाइसकेको थियो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरका २३ वर्षीय गोविन्द पुन जागा नै थिए । मोबाइलमा भिडिओ हेरिरहनुभएका उहाँलाई निन्द्रा परिसकेको थिएन । एक्कासि पुरै घर हल्लियो । के भयो भन्ने सोच्न नपाउँदै घर गर्ल्यामगुर्लुम भयो । ठुलो ढुङ्गा उहाँको खुट्टामा खस्यो । उहाँ थुचुक्कै बस्नुभयो । त्यसपछि घरका काठ, माटो, ढुङ्गा सबै उहाँ माथि खस्यो । त्यस बेला श्रीमती भद्रकला पुन र २ वर्षका छोरा सिद्धान्त पुन पनि साथमै थिए । गोविन्द र भद्रकलाको माथि केही काठ आएर अडिए र त्यसले माटो ढुङ्गालाई छेकेपछि उनीहरूको टाउकोमा चोट लाग्न पाएन । छातीभन्दा मुनिको भाग भने पुरै च्यापिएको थियो । तर छोरा सिद्धान्तलाई भने चोट लागिसकेको थियो । केही समयसम्म मम्मी मम्मी भन्दै थिए । तर बिस्तारै उनी बोल्न छाडे । गोविन्दले बुझिसके कि छोराको मृत्यु भइसक्यो ।
आधा घण्टासम्म उनीहरू घरमै पुरिरहे । जति चिच्याउँदा पनि उद्धारका लागि कोही आएन । तर अन्ततः गोविन्द दम्पतीको गुहार स्थानीले सुने र उनीहरूको सकुशलै उद्धार गरे । उनीहरू घरको माथिल्लो तलाको छेउमा सुतेका थिए । गोविन्दको दाइको परिवार भने सोही घरको बिचको कोठामा सुतेको थियो । गोविन्द र भद्रकलालाई स्थानीयले उद्धार गर्दासम्म दाइ ३१ वर्षीय धनविर पुन, उनकी श्रीमती २६ बर्सिया सुम्निमा पुन र उनीहरूको ८ वर्षको छोरा यमराज पुनको च्यापिएर मृत्यु भइसकेको थियो । यदि सुरुमै उद्धार भएको भए छोरा र दाइको परिवार समेत बच्थ्यो कि भन्ने गोविन्दलाई अहिले पनि लागेको छ । ‘हाम्रो त टाउको जोगियो र शरीरको अरू भाग च्यापिदा पनि बाँच्न सफल भयौँ, तर मेरो छोरा र दाइको परिवारलाई धेरै नै च्यापेछ क्यारे, उहाँहरूले त्यसलाई थेग्न सक्नुभएन, उनले भने तर अहिले पनि मलाई के लाग्छ भने सुरुमै उद्धार हुन सक्थ्यो भने सबैको ज्यान बच्न सक्थ्यो ।’
गोविन्दको घर त्यति पुरानो भने होइन । उनले विवाह गरेको र घर बनाएको साल एउटै हो रे । अर्थात् घर निर्माण भएको ४ वर्ष मात्र भयो । उनका बुवा प्रेम पुन र आमा सुशीला पुन भने पक्रइँया भन्ने गाउँको घरमा बस्ने भएका कारण जोगिए ।