Kakhara सबैको खबर सम्पूर्ण खबर
परिवारका ४ सदस्य गुमाएकी सरस्वती बुढेसकालमा एक्लै भइन
बुढेसकालमा सहारा विहीन बनेकी सरस्वती ।

रुकुम पश्चिमकाे आठबीसकोट नगरपालिका वडा नम्बर १४ छेपारीकी सरस्वती जैसीको उमेर ६० वर्ष भयो । माइला छोराको परिवारसँग बस्दै आएकी सरस्वतीका दिन खुसीयालीकै साथ बितिरहेका थिए । तीन भाइ छोरा मध्ये जेठा छोराको केही वर्ष अघि मृत्यु भइसकेको थियो । श्रीमानको समेत १ वर्ष अघि मृत्यु भइसकेको थियो । माइला र कान्छा छोरा अब सरस्वतीका सहारा थिए । तर दुवै छोरा रोजगारीका लागि भारतमा रहेका कारण अहिलेका सहारा थिए माहिली बुहारी, उनका दुई छोरी र एक छोरा । तर सरस्वतीको बुढेसकालको सहारा चुँडियो । एउटै घरमा सुतेका माहिली बुहारी ३० बर्सिया अमृता जैसी, अमृताकी २ छोरी ८ वर्षकी निशा जैसी र ६ वर्षकी भगवती जैसी तथा छोरा डेढ वर्षका दीपेश जैसी शुक्रवार रातीको भूकम्पले घर भत्काउँदा च्यापिएर अस्ताए ।

सरस्वतीसँग जेठी नातिनी निशा थिइन । राती अबेरसम्म मोबाइल चलाएर बसेकी निशा भर्खरै सुतेकी थिइन् । एक्कासि घर ढलेपछि परिवारका सबै सदस्य पुरिए । सरस्वती भने घरमा प्रयोग भएका काठका कारण आफ्नो ज्यान जोगिएको बताउँनुहुन्छ । उहाँकाे पुरै शरीर च्यापिसकेको थियो तर टाउको भने च्यापिन पाएन । उहाँको टाउको भन्दा माथि काठ तेर्सिए र उनको टाउकोमा चोट लाग्न पाएन । त्यसपछि उहाँ चिच्याउन थाल्नुभयाे । उहाँको बिलौना केही पछि मात्र स्थानीयले सुने । उहाँको सकुशलै उद्धार भयो । तर सरस्वती शुक्रवार रातीको घटना भुल्न सकिरहनुभएकाे छैन ।

कुरा गर्दै गर्दा बेला बेला घटना सम्झेर भक्कानिनुहुन्छ । भारतमा रहेको माइलो छोरा दीपेन्द्र जैसी र कान्छो छोरा धर्मलाल जैसीलाई घटनाको बारेमा खबर भइसकेको छ । उनीहरू आउँदै गरेको सरस्वतीले बताइन् । बुढेसकालमा आफू टुहुरो भएको भक्कानिँदै सरस्वतीले बताइन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update