रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितहरूलाई राहत सामग्री आइपुगेको पुगेको छ । कणाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर मार्फत आठबीसकोट नगरपालिकामा राहत सामग्री पठाएको हो । उद्धार शुक्रवार देखि शनिवार साँझ सकिएको छ । आजबाट भने भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत नगरपालिकामा पहिलो चरणमा १३ पेटी बिस्कुट, २४ पेटी चाउचाउ, ५१ वटा त्रिपाल, १८ वटा पी फम र ठुलो टेन्ट बिस सेट आइपुगेको आठबीसकोट नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ठाउँबाट पनि राहत आउने क्रम जारी छ ।
नगरपालिकाबाट खाद्यान्न सामग्री दाल, चामल, नुन, तेल लगायत आवश्यक सामग्री तयार गरेर भूकम्प प्रभावित क्षेत्रतिर जाने तयारी भइरहेको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । पहिलो चरणमा २८ घर परिवारलाई राहत सामग्री सँगै बस्नको लागि त्रिपाल वितरण गरिने छ । आजै प्रभावित क्षेत्र ११, १२, १३ र १४ नम्बर वडाका भूकम्प पीडित परिवारलाई राहत सामग्री वितरण गरिने उहाँले जानकारी दिनुभयो । अबको प्राथमिकता पीडितलाई राहत वितरणको खाँचो रहेकाले सोही अनुसार नगरपालिका लागेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो ।
शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा जाजरकोट र रुकुम पश्चिमले ठुलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको छ ।