नेकपा माओवादी केन्द्रका कार्यकर्ता भूकम्प प्रभावित क्षत्रमा खटिएका छन् । शुक्रवार मध्यरातमा आएको भूकम्पले रुकुम पश्चिमको आठबीसकाेट नगरपालिका र सानीभेरी गाउँपालिकामा धेरै क्षति गरेको छ । यति बेला माओवादीका कार्यकर्ताहरू उक्त क्षत्रमा खटिएर राहत वितरण तथा भूकम्प पीडितको व्यवस्थापनमा खटिएका छन् । आइतबार दिनभर वाइसीयल, अखिल क्रान्तिकारी र जन सांस्कृतिक महासङ्घमा आबद्ध माओवादी कार्यकर्ताले सानीभेरी गाउँपालिकामा घरमा पुरिएका अन्नपात र लत्ता कपडा निकाल्नुका साथै भूकम्प पीडितलाई ओत लाग्न पाल निर्माण गरिदिएका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तुल देवकोटाका अनुसार अखिल क्रान्तिकारी, वाइसीयल र जन सांस्कृतिक महासङ्घको टोलीले भूकम्प प्रभावित सानीभेरी गाउँपालिका वडा नम्बर १ स्थित विभिन्न टोलमा पुरिएका अन्नपात, लत्ताकपडाका साथै अन्य सामाग्रीहरू निकालेको छ । वडाको चाइनाबगर, रझेना र पक्रइँया टोलका करिब ३५ घरमा पुरिएका अन्नपात लत्ताकपडाका साथै घरायसी सामग्री बाहिर निकालिएको देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै भूकम्प प्रभावित सोही क्षेत्रका पीडित परिवारका लागि १५ ओटा अस्थायी टेन्ट निर्माण गरिएको उहाँको भनाई छ । त्यस्तै अखिल क्रान्तिकारी, वाइसीयल र जन सांस्कृतिक महासङ्घको टोली जिल्लाको आठबीसकोट नगरपालिकाका भूकम्प प्रभावित क्षेत्रमा पनि खटिएको छ । उक्त टोलीले राहत वितरण र भूकम्पले भत्किएका घर खाली गर्ने देखि क्षतिको विवरण सङ्कलन र पीडितलाई सान्त्वना दिने काम गरिरहेको छ । भूकम्पमा परेर पुरिएका घरायसी सामग्री निकाल्नुका साथै मरेका पशु चौपायाहरूको व्यवस्थापन गरिरहेको बताइएको छ । आज पनि टोली घटनास्थलमा खटिने वाइसीयलका केन्द्रीय सदस्य डम्बर थापाले जानकारी दिनुभयो ।