रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भुकम्प पीडितलाई राहत वितरण सुरु भएकाे छ । नगरपालिकाले हिजाे भूकम्प प्रभावित क्षत्रको विभिन्न ठाउँमा राहत सामग्री वितरण गरेको हो । मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षेती भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यन्न सामग्री संगै बस्नको लागि टेन्ट त्रिपाल वितरण गरेको आठबीसकोट नगरपालिकाका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक प्रत्यक घरपरिवारलाई दुई बोरा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, चाउचाउ र बस्नको लागि टेन्ट उपलब्ध बनाएको छ । पूर्णरुपमा घर क्षेती भएका ५० घर परिवालाई दाल, चामल, नुन, तेल र त्रिपाल वितरण गरिएको आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहाले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा पुगेर ७० बोरा चामल, २ क्विन्टल दाल, नुन तेल लगायत विभिन्न खाद्यान्न सामग्री वितरण गरेको बताइएकाे छ ।
अब ९, १० र १२ नम्बर वडाका केही ठाउँमा राहत वितरण गर्न बाकी रहेको छ । हिजाे ११ , १३ र १४ नम्बर वडाका भुकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । बाँकी रहेको क्षेत्रमा आज वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा विभिन्न संघ संस्थानाट खाद्यान्न तथा राहत सामग्री आउने कार्य जारी छ ।
जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो । सोही भुकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षेती संगै भौतिक क्षति बेहोर्नु परेको छ । रुकुम पश्चिममा ५२ जनाकाे मृत्यु भएकाे छ भने भौतिक संरचना पुर्याएको क्षेतीको विवरण भने अझै आइसकेको छैन ।