रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु भएका मध्य तीन जना जिल्ला बाहिरका रहेको पाइएको छ । शुक्रवार राती जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा जिल्ला बाहिरका ३ जना व्यक्तिको मृत्यु भएको हो । कामको सिलसिला रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीन जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार २ जना बर्दिया जिल्लाका र एक जना रोल्पाका व्यक्ति हुन । मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र बर्दियाकै ३६ वर्षीय अनिल विक रहेका छन् । उनीहरूको आठबीसकोट नगरपालिका १४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनु भएका रोल्पाका ३० वर्षीय किस्मत पुन मगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । पुन मगर निर्माण कम्पनीको गाडी चालक हुनुहुन्थ्यो ।
रुकुम पश्चिममा भूकम्पमा परी ३ जना जिल्ला बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै आठबीसकाेटका २ जनाको जाजरकोटमा मृत्यु भएको नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिकाका २ जनाको समेत जाजरकाेटमा मृत्यु भएको बताइएको छ ।