रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहत सँगै मृतक परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । शुक्रवार राती जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री तथा मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको हो । आठबीसकोट नगरपालिकाको ११, १२, १३ नम्बर वडाका ५ मृतक घरपरिवारलाई २५ हजारका दरले किरिया खर्च दिएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य ५६ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । जस अन्तर्गत चामल, दाल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायत बस्नको लागि पीडित परिवारलाई त्रिपाल उपलब्ध बनाएको छ । मृतक भएका ५ घरपरिवारलाई आइतबार राहत सँगै किरिया खर्च उपलब्ध बनाएको हो । भने बाँकी मृतक घरपरिवारलाई आज प्रभावित क्षेत्रमा पुगेर राहत सँगै किरिया खर्च दिइने नगर प्रमुख केसीले जानकारी दिनुभयो । मृतक घरपरिवारको सङ्ख्या आठबीसकोटमा २४ रहेको छ ।
बाँकी १९ घरपरिवारलाई राहत सामग्री वितरण गरिए पनि किरिया खर्च दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आइतबारबाट सुरु गरिएको राहत वितरण कार्यक्रम जारी छ । कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम लगायतको समूहले आठबीसकोटको भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिरहेको छ । भूकम्पले जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षति सँगै भौतिक संरचना ठुलो क्षति पुर्याएकाे छ ।