रुकुम पश्चिमका भूकम्प प्रभावित क्षत्रमा अस्थायी स्वास्थ्य पोस्ट सञ्चालन गरिने भएको छ । भूकम्प पीडितलाई स्वास्थ्य समस्या नहोस् र स्वास्थ्यमा समस्या आएमा उपचारका लागि प्रभावित क्षत्रमा अस्थायी स्वास्थ्य पोस्ट सञ्चालन गर्ने आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
भूकम्प प्रभावित स्थानीय तहहरूमा अस्थायी हेल्थ पोस्टहरूको निर्माण गरी मोबाइल रूपमा परिचालन गर्नुपर्ने भएकोले १ जना चिकित्सक, १ जना नर्स र मेडिकल सामग्री सहितको ५ वटा टोली तत्कालै प्रभावित क्षत्रमा पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
यसबारेमा स्वास्थ्य सेवा कार्यालयलाई लेखी पठाइएको उहाँले बताउनुभयो । तत्काल स्थानीय तहहरूका अस्पताल तथा स्वास्थ्य सेवा कार्यालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतबाट खटिएको मेडिकल टिमलाई परिचालन गर्ने बैठकले निर्णय गरेको छ ।