रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गत शुक्रवार आएको भूकम्पमा परि मृत्यु भएकाका परिवारलाई २५ हजार किरिया खर्च उपलब्ध बनाउने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाकाे बैठकले मृतक परिवारलाई २५ हजार किरिया खर्च दिने निर्णय गरेको हो । भूकम्पमा परी गाउँपालिकाका १२ जनाको मृत्यु भएको थियो । १० जनाको गाउँपालिकामै र २ जनाको जाजरकोटको रिम्नामा मृत्यु भएको थियो । मृतकका घरपरिवारलाई तत्कालका लागि गाउँपालिकाले किरिया खर्च उपलब्ध बनाउने निर्णय गरेको गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
त्यस्तै पीडितको राहतको लागि जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा बापतको रकम र पालिकामा कार्यरत कर्मचारीहरूको तहगत हिसाबले ५ दिनको सेवा तलब बराबरको रकम गाउँपालिकाको प्रकोप विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै भूकम्पको क्षतिको विवरण यकिन गर्न गाउँपालिका उपाध्यक्ष कमला रोकाको संयोजकमा तथ्याङ्क लगत सङ्कलन समिति पनि निर्माण गरिएको छ ।
गाउँपालिकाले सहयोगको लागि दातृ निकाय, सङ्घ संस्था सबैमा अपिल समेत गरेको छ । भूकम्पले वडा नम्बर १, २ र ४ मा मानवीय क्षति सँगै भौतिक संरचनामा ठुलो क्षति पुगेको छ ।