रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ बलिवाङमा भूकम्पले भत्काएका घरबाट सामान निकाल्ने क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तुल देवकोटा घाइते हुनुभएको छ ।
गत शुक्रवार मध्यरातमा गएको भूकम्पका कारण भत्किएका घर खाली गर्ने काममा खटिनुभएका देवकोटा आज पुनः भूकम्प गएपछि घाइते हुनुभएको हो । उहाँको खुट्टा र हातमा चोट लागेको उहाँसँगै उद्धारमा रहनुभएका विद्यार्थी नेता नारायण केसीले जानकारी दिनुभयो । घर खाली गरिरहेको अवस्थामा पुनः भूकम्प गएपछि देवकोटालाई खुट्टा र हातमा चोट लागेको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका कार्यकर्ता आइतबार देखि भूकम्प प्रभावित क्षत्रमा खटिएका छन् । उनीहरूले भत्किएका घरबाट लत्ताकपडा र अन्नपात निकाल्नुका साथै भूकम्प पीडितलाई बसोबासका लागि पाल र टेन्ट टाँग्ने लगायतका काम गरिरहेका छन् ।
आज अपराह्न ४ बजेर ३१ मिनेटमा पुनः जाजरकोटको रामिडाँडा नै केन्द्र बिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त ठाउँ नै केन्द्र बिन्दु बनाएर गत शुक्रवार ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जसका कारण जाजरकोट र रुकुममा गरी १ सय ५७ जनाको मृत्यु भएको छ ।