Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा दुई एमाले
झलनाथ-माधव समूहका नेता कार्यकर्ताको प्रशिक्षण कार्यक्रम ।

शुक्रबार रुकुम पश्चिमको मुसीकोट खलंगा बहुमुखि क्याम्पस खलंगामा नेकपा एमालेको जिल्ला कमिटि बैठक बस्यो । शुक्रबार नै बागबजार स्थित पार्टी कार्यालयमा एमाले निकट राष्ट्रिय युवा संघको बैठक तथा प्रशिक्षण भयो । यी दुवै कार्यक्रममा उनै मान्छे सहभागि भएनन् । न उनै वक्ता सहभागि न सहभागिहरु नै उनि हुन् ।

फरक फरक ठाउँमा फरक फरक कार्यक्रम गर्ने यो नेकपा एमाले हो । जिल्लामा दुई वटा एमाले सक्रिय छन् । जिल्ला अधिवेशनबाट निर्वाचित विमलकुमार पुन नेतृत्वको एउटा जिल्ला कमिटि छ भने टंकप्रसाद ओलीलाई संयोजक बनाएर अर्को एमाले समूह छुट्टा छुट्टै क्रियाशिल छन् ।

झलनाथ–माधव नेपाल समूह र केपी शर्मा ओली समूह । दुवैले आ–आफ्नो पार्टी आधिकारीक भन्दै आएका छन् । पुन नेतृत्वको नेकपा एमाले अधिवेशनबाट आएको एमाले हो । यो झलनाथ–माधव नेपालको समूह हो । यसमा उपाध्यक्ष ऋषिप्रसाद शर्मा, सचिव हरिप्रसाद शर्मा र उपसचिव माधवप्रसाद गौतम लगायतका नेताहरु छन् ।

अध्यक्ष पुनले आफूहरुसित ७५ प्रतिशत बढी जिल्ला कमिटिका सदस्यहरु रहेको आधिकारीक पार्टी आफूहरुकै भएको दावी गर्नुभयो । केही सदस्य यता उता नगरेर बसेकाले ओली समूहमा १० प्रतिशत मान्छे मात्रै रहेको अध्यक्ष पुनको भनाई छ ।

यसरी विभाजित भएर जाँदा जनतामा नैराश्यता छाएकाले एउटै भएर जाने गरी छलफल चलिरहेको पनि पुनले बताउनुभयो । संयोजक तोकिएका टंकप्रसाद ओलीले भने आफूहरु नै पार्टीको संस्थापन भएको बताउनुभयो । पार्टी केन्द्रले पठाएको अन्तर पार्टी निर्देशन अनुसार नै आफूहरु कामकाजमा लागिरहेको उहाँले बताउनुभयो ।

केन्द्रीय कमिटि बैठकका निर्णय, सर्कुलर अनुसार नै पार्टी काममा रहेकाले अर्को पार्टी छ छैन भन्ने विषय महत्वपूर्ण नभएको उहाँले बताउनुभयो । अर्को टोली माथिदेखि नै समानान्तर कमिटि बनाएर गइरहेकाले त्यो पार्टी नीति, विधि र पद्धती विपरीत रहेको उहाँको भनाई छ । 

एउटै पार्टी कार्यालय
पार्टीका गतिविधि दुई पक्षियबाट भएपनि कार्यालय भने एउटै प्रयोग भइरहेको छ । दुवै पक्ष कार्यालयमा जाने बस्ने र कार्यक्रम गर्ने गरिरहेका छन् ।

बागबजार स्थित मदन–आश्रीत भवनमा पार्टी कार्यालय कामकाज सम्पादन गरिरहेका छन् । सुरुमा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयको ताला फुटाएर कार्यालय सञ्चालन गरेका थिए । पछि नेपाल पक्षधर पनि कार्यालयमा जान थालेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update