रुकुम पश्चिममा पशु चौपाया र पंक्षीमा पनि ठुलो क्षति पुगेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको प्रारम्भिक विवरण अनुसार जिल्ला भरमा ६५ लाख ५८ हजार रुपैयाँ बराबरका पशु पंक्षी मरेका छन् । जिल्लामा खटिएर तयार पारेका तथ्याङ्क अनुसार जिल्लाभरमा १७ वटा गाई गोरु, २४ वटा भैँसी, ६९ वटा बाख्रा, २१ वटा भेडा, ७ सय ३१ वटा कुखुरा, १० वटा टर्की गरी ८ सय ७७ वटा पशु पंक्षी मर्नुका साथै ४ वटा गोठमा क्षति पुगेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख शेरबहादुर खड्काले जानकारी दिए ।
पशुपंक्षी तर्फ पनि सबैभन्दा बढी आठबीसकोट नगरपालिकामै क्षति भएको छ । आठबीसकोटमा गाइगोरु १३ वटा, भैँसी १८ वटा, बाख्रा २९ वटा र कुखुरा ६ सय ९२ वटा मरेका छन् । त्यहाँ मात्र ३७ लाख ४८ हजार बराबरको क्षति भएको प्रमुख खड्काले जानकारी गराए । सानीभेरी गाउँपालिका २ गोरु, ६ भैँसी, ४० बाख्रा, २७ कुखुरा मर्नुका साथै १ गोठमा क्षति हुँदा १८ लाख ४० हजार बराबरको क्षति हुन पुगेको छ ।
चौरजहारी नगरपालिकामा २ बाख्रा मर्दा ४० हजार, मुसिकोटमा १ भेडा र १३ कुखुरा मर्नुका साथै १ गोठ भत्किदा ४ लाख २९ हजार ५ सय तथा त्रिवेणी गाउँपालिकामा १ बाख्रा, १० टर्की मर्नुका साथै १ गोठ भत्किदा ४ लाख ६० हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ । बाँफिकोटमा भने क्षतिको विवरण छैन ।