Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै 

भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै गएको छ । जाजरकोटको बारेकोट १ रामीकाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि टेलिफोन सेवा अवरुद्ध नभए पनि सेवाको गुणस्तरमा समस्या देखिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले सेवा सुधारका प्रयास थालेपछि सेवा सहज बन्दै गएको हो । नेपाल टेलिकमको घेत्मा रिपिटर स्टेशनमा आएको पावरको समस्याका कारण सो टावरमार्फत सञ्चालित दश वटा साइट टावरबाट प्रवाह हुने फोन र डाटा सेवामा समस्या देखिएको थियो ।

सो टावरमा रेक्टिफायर मर्मत र जेनेरेटर सञ्चालनपछि दश वटै साइट टावरको सेवा सहज बन्दै गएको नेपाल टेलिकमले जनाएको छ । त्यस्तै नायकवाडा सोलार साइडको समस्या समाधानका लागि बुटवलबाट जेनेरेटर लिएर प्राविधिहरु त्यसतर्फ प्रस्थान गरेको पनि टेलिकमले जनाएको छ । सेवाको गुणस्तर वृद्धिका लागि सल्लाभीरदेखि खारा र घेत्मादेखि सल्लाभीर बिचको माइक्रोवेब लिंकको क्षमता ५०० एमविपिएसबाट २.५ जिविपिएस बृद्धि गर्न प्राविधिकहरुले काम गरिरहेको टेलिकमका अधिकारीहरुलाई उधृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

त्यस्तै घेत्मा–आठबीसकोट–गोतामकोटबिचको माइक्रोवेब लिंकको क्षमता १८३ एमविपिएसबाट ५०० एमविपिएस बृद्धि गर्नका लागि प्राविधिहरु त्यसतर्फ गइरहेको र बढीमा दुुई दिनपछि सेवामा सुधार आउने जनाइएको छ । निर्माण भएर सञ्चालनमा आउन नसकेको रुकुमपश्चिम मग्गाको टावर पनि टेलिकमले भोलि बुधवारदेखि सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाइएको केसीले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले आफ्ना कार्यालयका अतिरिक्त भूकम्प प्रभावितस्थलमै अस्थायी शिविर राखेर पनि सेवालाई गुणस्तरीय बनाउने तयारी थालेको जनाएको छ । यसका लागि काठमाडौं, भइरहवा र सुर्खेतबाट थप जनशक्ति परिचालन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update