रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहत सँगै किरिया खर्च दिइएको छ । आइतबार र सोमबार गरेर नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो । गत शुक्रवार जाजरकोटको रामीडाडाँ केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर वडा नम्बर ९, १०, ११, १२, १३, र १४ का २८ घरपरिवारले आफन्त गुमाउनु परेको थियो । नगरपालिकाले आफन्त गुमाएका सबै परिवारलाई २ दुई दिन लगाएर राहत सँगै किरिया खर्च दिएको हाे ।
प्रत्येक मृतक परिवारलाई रु २५ हजारका दरले किरिया खर्च दिएको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घरबार विहीन भएका परिवारलाई पनि खाद्यान्न लगायतका अन्य सामग्रीको प्याकेज बनाएर राहत सामग्री वितरण गर्ने काम जारी छ । नगरपालिकामा उपलब्ध भएको खाद्यान्न लगायत अन्य राहत प्रभावित क्षेत्रमा लगेर वितरण गरिरहेको उपप्रमुख शाहीले जानकारी दिनुभयो । भूकम्पका कारण आठबीसकोटमा ४२ जना र नगरपालिकाका २ जनाको भने जाजरकोटमा मृत्यु भएको थियो । नगरपालिकामा ज्यान गुमाएका मध्य ४ जना भने जिल्ला बाहिरका हुन्
त्यस्तै सानीभेरी गाउँपालिकामा पनि भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई गाउँपालिकाले राहत सँगै २५ हजार किरिया खर्च उपलब्ध बनाएको गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । यहाँ १२ जनाको मृत्यु भएको थियो ।