नेपाल शिक्षक महासंघ सुर्खेतले भूकम्प प्रभावित क्षत्र रुकुम पश्चिमलाई आर्थिक सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम पुगेर शिक्षक महासंघ सुर्खेतको टोलीले एक लाख रकम सहयोग गरेको हो । भूकम्प प्रभावित क्षेत्रका पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई मङ्गलवार एक लाखको चेक हस्तान्तरण गरेको सुर्खेत शिक्षक महासङ्घका अध्यक्ष ढालबहादुर खत्रीले जानकारी दिनुभयो ।
महासङ्घका अध्यक्ष खत्री, सचिव टेकबहादुर कार्की, नेपाल शिक्षक सङ्घ सुर्खेतका सुरेन्द्र रावत र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतका अध्यक्ष डिलाराम भण्डारीले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी पन्तलाई चेक हस्तान्तरण गर्नुभएको हो । गत शुक्रवार जाजरकोट केन्द्र विन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले रुकुम पश्चिममा मानवीय सँगै भौतिक संरचनामा ठुलो क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत सङ्कलन तथा पीडित परिवारलाई राहत वितरणको काम पनि चलिरहेको छ ।