प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर निरन्तर भूकम्प प्रभावित क्षत्रमै खटिनुभएको छ । शुक्रवार मध्यरातमा भूकम्प गएपछि शनिवार बिहानै प्रधानमन्त्रीलाई लिएर जिल्ला आइपुग्नुभएका उहाँ प्रधानमन्त्रीसँगै काठमाडौँ फिर्ता जानुभएको थियो । आफू राहतको व्यवस्थापनका लागि प्रधानमन्त्रीसँग फर्किनुपरेको र अब जिल्लामा बस्ने र भूकम्प प्रभावितसँगै रहने गत कार्तिक २० गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा उहाँले बताउनुभएको थियो ।
उहाँ लगातार भूकम्प प्रभावित क्षत्रमा खटिनुभएको छ । भूकम्प प्रभावितको अवस्था बुझ्ने देखि राहत वितरणको अवस्था अनुगमनका लागि उहाँ प्रभावित क्षत्रमा हुनुहुन्छ । स्थानीय तहलाई राहत वितरण गर्न निर्देशन दिनुभएका प्रभाकर आफू भने त्यसको अनुगमनमा हुनुहुन्छ । विपत् व्यवस्थापन समितिको बैठकमा उहाँले आफू राहत वितरणमा नजाने बरु राहतको व्यवस्थापनमा लाग्ने बताउनुभएको थियो । ‘तपाई हामी नेताहरू राहत वितरण गर्न जाने होइन, हामी राहत व्यवस्थापनमा लाग्नुपर्छ, राहत स्थानीय तहले वितरण गर्छन्, बरु हामी त्यसको अनुगमनमा जाउँला,’ उहाँले भन्नुभएको थियो ।
विभिन्न राहत सामग्री सहित जिल्ला आइपुग्नुभएका प्रभाकर यति बेला भूकम्प प्रभावितलाई ढाडस दिन फिल्डमा खटिनुभएको हो । उहाँले भूकम्प पीडितको व्यवस्थापनका लागि पाल तथा टेन्ट टाँग्न समेत सहयोग गरिरहनुभएको छ । भूकम्प प्रभावितहरूको हाल बुझ्नुका साथै उनीहरूलाई सान्त्वना दिने, ढाडस दिने देखि भूकम्प प्रभावितको बसाई व्यवस्थापनका लागि केही काम गर्नुपर्ने हो भने पनि काम गर्न तम्सिहाल्नुहुन्छ । हिजोको रात उहाँले आठबीसकोट नगरपालिका १४ का विभिन्न ठाउँमा बिताउनुभयो । किरिया पुत्रीसँग भेटघाटका साथै भूकम्पले घर बास विहीन बनाएका नागरिकहरूका दुःख सुख सुन्नुका साथै उनीहरूसँगै उहाँले रात बिताउनुभयो ।
केही ठाउँमा उहाँ पाल टाँग्न तथा टेन्ट राख्न आफैँ खटिनुभएको थियो । रातभरको चिसो उहाँले भूकम्प प्रभावितसँगै काट्नुभयो । भूकम्प प्रभावितलाई नआत्तिन र सरकार भूकम्प प्रभावितकै साथमा रहेको भन्दै उहाँले भूकम्प प्रभावितलाई सान्त्वना दिने काम गरिरहनुभएको छ । जिल्लावासी दुःखमा रहेका बेला आफू पनि जिल्लावासी सँग सँगै रहेको उहाँले बताउनुभयो । भूकम्प प्रभावित सबै क्षत्रमा आफू पुगिरहेको उहाँले सुनाउनुभयो ।
‘कसैलाई पनि राहतको समस्या हुन्न, हामी पर्याप्त राहतको व्यवस्थापनमा जुटेका छौँ, सबैतिरबाट राहत आइरहेको छ, राहत सबैलाई पुग्छ, नआत्तिनुहोस् सबै जना ढुक्कले बस्नुहोस्, तपाईँको साथमा सरकार छ भनेर पीडितहरूलाई सम्झाइरहेको छु’ उहाँले भन्नुभयो ।