रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ खालचौरकी पार्वती चन्द मल्लको परिवार शुक्रवार गएको भूकम्पबाट जसोतसो बच्यो । ज्यान बचाउने सङ्घर्षमा पार्वतीका श्रीमान् टोपेन्द्रप्रकाश मल्लको टाउकोमा चोट लाग्यो । पार्वती आफैँलाई पनि टाउकोमा चोट लागेको छ । तर दुधे छोरालाई भने उनीहरूले सकुशल जोगाए । माथिबाट माटो, ढुङ्गा, काठ झरिरहेका थिए, तर छोरालाई छातीमा च्यापेर बचाएँ, पार्वतीले शुक्रवारको भयानक रात सम्झिनुभयो । त्यसपछि पार्वतीको परिवार घर छेउमा रहेको खाली ठाउँमा टनेल टाँगेर त्यसमुनि बसिरहेको छ । उहाँको तीन जनाको परिवारले ज्यान त जसोतसो जोगायो तर घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा भने अझै पनि निकाल्न सकेको छैन । श्रीमान् श्रीमतीका मोबाइल पनि घरमै पुरिएका छन् । मल्ल दम्पती घरीघरी घरभित्र पस्न तम्सिन्छन् तर उनीहरूलाई आँट आउँदैन । सोमबार पुनः गएको भूकम्पले त झनै डर लागेको छ । ‘कसैले घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा तथा मोबाइल लगायतका सामग्री निकालिदियो भने ठुलो राहतको सास लिने थियौँ पार्वतीले भन्नुभयो ।’
पार्वतीको घर छेउमा छ खीमा चन्द मल्लको घर । उहाँको परिवारको हालत पनि उस्तै छ । शुक्रवार रातीको भूकम्पबाट जसोतसो ज्यान जोगाए पनि घर भित्र रहेका कुनै पनि सामान निकाल्न नपाएको खीमाले बताउनुभयो । घर भित्र छिर्ने आँटै नभएको उहाँ बताउनुहुन्छ । ‘ज्यान त जोगियो, अन्नपात र लत्ताकपडा जे सुकै होस भनेर निकाल्ने आँट गरेका छैनौँ, उहाँले भन्नुभयो–तर अब अन्न सकिन लागिसक्यो, लगाएका कपडा पनि फोहर भइसकेका छन्, यसरी त कसरी चल्ला र खै ।’
पार्वती र खीमा मात्र होइन सानीभेरी ४ का अधिकांश भूकम्प प्रभावितको पीडा यस्तै छ । टाढाबाट हेर्दा घरहरू सामान्य झैँ देखिन्छन् । तर नजिक गयो भने कुनै पनि घर सग्ला छैनन् । कतिपय घर त बाहिरबाट हेर्दा पनि ठिक ठाक देखिन्छन् तर भित्र पस्दा मात्र थाहा हुन्छ घर त ढल्नै पो लागेको रहिछ भनेर । ‘टाढाबाट हेर्दा केही भएको छैन जस्तो लाग्छ तर हामी घर न घाटका भएका छौँ, खालचौरकै बासमती कामीले भन्नुभयो–हाम्रा घर त न ढल्न सके न सग्ला छन् ।’ सबै घर गल्र्याम्म नढलेका कारण झट्ट हेर्दा धेरै क्षति नभएको जस्तो देखिदा आफूहरूलाई उपेक्षा गरिएको त्यहाँका भूकम्प प्रभावितहरूको गुनासो छ ।
कोही बस्दैनन् घरमा
खालचौरमा कोही पनि स्थानीय घरमा बस्दैनन् । करिब १ सय १५ परिवार रहेकामा सबैले घर बाहिर पाल टाँगेका छन् । कोही एकल रूपमा पालमा बस्छन् भने धेरै जसो २, ३ घर मिलेर बसिरहेका छन् । पर्याप्त ठाउँ नहुँदा एकै ठाउँमा पाल टाँगेर बसिरहेको स्थानीय बादल चन्दले बताउनुभयो । उहाँको, पर्शुराम चन्द्र र अर्जुन विकको परिवार एउटै पाल मुनि बसिरहेको छ । पार्वती र खीमाको परिवार एउटा पालमा बस्छ । गाउँमा यसरी नै मिलेर बसिरहेका छन् । दिनभरि कोहीले घरमा पुरिएका सामानको खोजीको प्रयास गर्छन् भने कोही अन्य काममा व्यस्त हुन्छन् । रात सुरु भएपछि घर बाहिरै आकाशमुनि खाना पकाउँछन् भने पालमा सुत्छन् । धेरैका भान्सा खेतबारीमा छन् । वडाका मेघा, खालचौर, स्यानाखाली, खड्का टोल, खत्री टोल, मल्ल टोल, दलित टोल, खिरखिरे वस्ती, गारछाला, लामाचौर, काउलेचौर, सुगेखोला, पुरानागाउँ, बलिवाङ, चोरपानी, गोलचौर, पाखापानी, गाउँबारी, टुरा, राम्री र चाख्लिमेला लगायतका बस्तीमा भूकम्पले क्षति गरेको छ ।
सुत्केरी, गर्भवती सबैभन्दा बढी प्रभावित
खलचौरकी विमला खड्का तीन महिने सुत्केरी हुनुहुन्छ । घरमा एक्लै बस्दै आएकी विमलाले शुक्रवार राती आफू सहित तीन महिने छोरीको ज्यान मुस्किलले बचाउनुभयो । ‘शरीर भरी माटो खस्दै थियो आँखा चिम्लेर निस्किएकी हुँ, धन्न ठुलो चोट लागेन आमा छोरीको ज्यान बच्यो उनले शुक्रवारको रातलाई सम्झिँदै भन्नुभयो ।’ अहिले उहाँ घर तलपट्टिको खाली बारीमा पाल टाँगेर बस्नुभएको छ । उहाँसँग अहिले उहाँकी बहिनी पनि हुनुहुन्छ । श्रीमान् रोजगारीका लागि भारतमा रहेका कारण उहाँ घरमा एक्लै हुनुहुन्थ्यो । छिमेकीले राहत स्वरूप पाएको त्रिपाल टाँगेर बस्न मिल्ने बनाइदिएका छन् । उहाँ छोरी र बहिनी सहित उक्त पालमा रात काटिरहनुभएको छ । तीन महिनाकी सुत्केरी विमलालाई पाल मुनिको रात निकै लामो लाग्छ । एक त असुरक्षित पाल मुनिको बास त्यसमा पनि तीन महिनाकी छोरी साथमा । चिसोका कारण छोरीको स्वास्थ्यमा समस्या देखिन थालेको विमलाले बताउनुभयो । छोरी धेरै नै रुने, खोक्ने र उल्टी गरिरहेको उहाँले सुनाउनुभयो । न्यानो कपडा समेत नभएको उहाँले बताउनुभयो । शुक्रवार पछि राम्ररी खान समेत नपाएको उहाँले बताउनुभयो । आफूले त जसोतसो अहिलेसम्म धानिरहेको तर छोरीलाई समस्या भइरहेको उहाँको भनाई छ ।
पर्याप्त राहत नपाएको गुनासो
जिल्लामा भूकम्प प्रभावितका लागि राहत वितरण सुरु भइसकेको छ । भूकम्प प्रभावितले राहत पाइसकेका पनि छन् । तर राहतका नाममा राहत मात्र पाएको गुनासो भूकम्प पीडितहरूको छ । त्रिपाल पनि सानो दिएका छन्, एउटा त्रिपालले पाल बनाउनै पुग्दैन, त्यो ओढ्नु कि ओछ्याउनु भूकम्प पीडित सानीभेरी ४ का कर्णबिर कामीले भन्नुभयो । अहिले धेरै भूकम्प प्रभावितले राहत स्वरूप दिएका त्रिपाल खासै काम लाग्ने अवस्थामा नरहेको बताएका छन् । सानो त्रिपालले पाल बन्दैन, त्यो त्रिपालको पाल टाँग्नु की भइँमा ओछ्याउनु, कामीले भन्नुभयो । गैर खाद्य केही राहत पाए पनि खाद्यान्न नपाएको भूकम्प प्रभावितहरूको गुनासो छ । अलि अलि जोगाएको अन्नले अहिलेसम्म पुगेको र अब राहत नपाए भोक भोकै बस्नुपर्ने अवस्था रहेको कामी बताउनुहुन्छ । तत्कालै खाद्यान्न सामग्री उपलब्ध गराउन उहाँले माग गर्नुभयो ।