
गत शुक्रवार जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर ६ दशमलव ४ रेक्टर स्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमका पश्चिममा ठुलो मानवीय सँगै भौतिक संरचनामा क्षति पुर्यायो । त्यो भूकम्पबाट रुकुम पश्चिम जिल्ला पनि अछुतो रहेन । अझ भनौँ ठुलै मानवीय क्षति भयो । हजारौँको सङ्ख्यामा घरमा पूर्ण रूपमा क्षति पुग्यो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको वडा नम्बर १३ भल्माका ४१ वर्षीय हरिबहादुर ओलीको घर नि बस्नै नमिल्ने गरी पूर्ण रूपमा भयो । उहाँको घर क्षति मात्रै गरेन परिवार नै मर्नु र बान्नुसम्मको अवस्थामा पुर्यायो ।
शुक्रवार सँगै सुतेका चार जनाको परिवार घाइते हुनुपर्यो । हरिबहादुर सहित उहाँकी श्रीमती र दुई छोरा परे । भूकम्पले भत्किएको घरले आफू सहित आफ्नो पुरै परिवारलाई पुरेको हरिबहादुरले सुनाउनुभयो । “मरिन्छ कि भन्ने लागेको थियो धन्न बाच्न सफल भइयो स्थानीयले राती नै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो, स्थानीयले तत्काल पुरिएको घरबाट निकाले अनि बाच्न सफल भयौँ “ ओलीले भन्नुभयो । उपचारका लागि ओलीको चारै जनाको परिवारलाई नगर अस्पताल राडी पुर्याइएको थियो । राडिको नगर अस्पतालमा २ दिनसम्मको उपचार पछि घर फर्किएको उहाँले बताउनुभयो ।
घर फर्किएपछि बस्न समस्या भएको उहाँले सुनाउनुभयो । अहिलेसम्म राहतको नाममा एउटा त्रिपाल बाहेक अन्य कुनै नपाएको उहाँको गुनासो छ। “राहतको नाममा त्रिपाल आयो र एउटा घरमै रहेको त्रिपालको टेन्ट बनाएर बसिरहेका छौँ रात कटाउन निकै मुस्किल हुने गरेको छ, अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ, राहतको पर्खाइमै छौँ “ उहाँले भन्नुभयो । “पालिकामा त धेरै राहत सामग्री आएको छ भन्ने सुन्छु त्यो राहत का जान्छ यहाँ त त्रिपाल बाहेक केही आएको छैन । घर नजिकै पसल भएकाले उधारोमा चामल, दाल, तेल नुन लिएर खाने गरेको छु राहत वितरण गरेको ३ दिन भइसक्यो केही अत्तो पत्तो छैन“ उहाँले थप गुनासो गर्नुभयो ।
अन्य परिवारले समेत राहत पाउन नसकेको गुनासो गरेका छन् । १३ नम्बर वडामा ९ जनाको मृत्यु भएको छ । यस वडामा मात्रै चार सय तीस घर पूर्ण रूपमा क्षति भएको विवरण वडा कार्यालयमा छ । एक सय १७ घर आंशिक क्षति भएको र ५५ घरमा सामान्य क्षति भएको वडा सचिव चक्रबहादुर डिसीले जानकारी दिनुभयो । उहाँ अनुसार पूर्ण रूपमा क्षति भएका चार सय ३० घरपरिवारको लागि त्रिपाल मात्रै आएको र अन्य खाद्यान्न सामग्री आइसकेको छैन । आंशिक क्षति भएकाहरूले भने त्रिपाल समेत पाएका छैनन् ।
पालिकाबाट राहत सामग्री आएपछि वितरण गरिने वडा सचिव डिसीले जानकारी दिनुभयो । मृतकका परिवारले भने २५ हजार किरिया खर्च सहित खाद्यान्न सामग्री पाइसकेका छन् । राहत वितरणको काम भइरहे पनि सबै ठाउँमा राहत वितरण गर्न नसकिएको नगर प्रमुख रबि केसीले स्वीकार गर्नुभयो ।