प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले आफ्ना विरुद्ध कान्तिपुर दैनिकले भ्रमपूर्ण र तथ्यहीन समाचार लेख्दा आफू अचम्मित भएको बताउनुभएको छ । जाजरकोटका लागि लैजाँदै गरेका सोलार जनार्दन शर्माको निर्देशनमा रुकुम लगी आठबीसकोट नगरपालिकामा लगी वितरण गरिएको भन्दै कान्तिपुर दैनिकले आज समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारलाई उहाँले अनुमानको संज्ञा दिनुभएको छ । ‘कान्तिपुरले मेरा विरुद्ध विगत देखि नै निरन्तर रूपमा मेरो राजनीतिक जीवनमाथि प्रहार गरी चरित्र हत्या गर्ने काम गरेको छ, पूर्व मन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ–जाजरकोटको लागी आएको राहत सामाग्री मेरो दबाबमा रुकुम पश्चिम कब्जा गरी लगिएको जस्ता भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएको देख्दा म अचम्मित भएको छु ।’
साथै उक्त समाचारलाई पुष्टि गर्न जाजरकोटका भेरी नगर प्रमुख चन्द्रप्रकाश घर्तीको भनाई समेत ‘कोड’ गरिएको छ, जुन विषय नगरप्रमुख स्वयंले आफूले बोल्दै नबोलेको विषय कान्तिपुरले मेरो भनाई भन्दै कसरी प्रकाशित गरेको व्यक्त गरे बाट उक्त समाचार कुन नियतका साथ प्रकाशित भएको छ भनी सजिलै अनुमान गर्न सकिने उहाँले बताउनुभएको छ ।
जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भुकम्प गएको भोली पल्ट देखि नै आफू यस क्षेत्रको एउटा जिम्मेवार राजनीतिकर्मीको रूपमा स्थानीय तह लगायत सरोकारवाला सबैसँग हातेमालो गर्दै अहोरात्र खटिरहेको समेत उहाँले स्पष्ट पार्नुभएको छ । यस्ता गलत र भ्रामक समाचार प्रकाशन नगर्न/नगराउन उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि समाचारमा उल्लेख गरिएजस्तो जिल्लामा सोलार सामग्री नआएको स्पष्ट पारिसकेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले एक विज्ञप्ति जारी गर्दै समाचारमा उल्लेख भए अनुसारका सामग्री जिल्ला विपत् व्यवस्थापन समितिमा अभिलेखीकरण नभएको र स्थानीय तह आठबीसकोट नगरपालिकामा बुझ्दा पनि उक्त सामग्रीका बारेमा जानकारी नभएको खबर आएपछि उक्त समाचार भ्रामक भएको उल्लेख गरिएको छ ।