Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई आज देखि २ लाख दिइँदै
पालमुनी रहेका रुकुम पश्चिमको सानीभेरी ४ मा पाल मुनि बसेका किरिया पुत्री ।

रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजबाट नगद राहत वितरण गरिने भएको छ । सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारलाई दिने घोषणा गरेको प्रति मृतक २ लाख राहत आजबाट बाँड्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत वितरण सुरु हुन लागेको छ । सानीभेरीमा १० जनाले भूकम्पमा परी ज्यान गुमाएका छन् । एउटा घरमा एक जनाको मात्र मृत्यु भएको अवस्थामा प्रति मृतक २ लाख नगद दिने र १ भन्दा बढीको मृत्यु भएको अवस्थामा एक जनाको २ लाख र थप मृतकको हकमा १ लाखका दरले थपिँदै जाने बढुवालको भनाई छ । 

आज सानीभेरीमा राहत वितरण सकेर भोली आठबीसकोट नगरपालिकामा राहत वितरण गरिने उहाँले बताउनुभयो । आठबीसकोटमा ४२ जनाको मृत्यु भएको छ । मृतकका नजिकका कानुनी हकवालालाई राहत वितरण गरिने छ । 

मृतकका परिवारलाई नगद राहतका लागि सङ्घबाट ५ करोड बजेट जिल्ला विपत् व्यवस्थापन समितिमा आएको छ । त्यसबाट कति खर्च हुन्छ भन्ने बारेमा अहिले नै भन्न सकिने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकोले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनुभयो । मृतकका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्का लगायतका प्रक्रिया पुरा गर्न बाँकी भएकोले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उहाँको भनाई छ । जिल्लामा १ सय १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update