कार्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत चौरजहारी नगरपालिका वडा नम्बर १ का २२ वर्षिय निरोज बिष्टको आज बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
बिष्ट २०७७ भदौ ९ गते देखि नगर प्रहरी जवानमा कार्यरत थिए । वडा नम्बर ८ को गोइरी जिउलामा ढुंगा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएका बिष्ट भूकम्प आएपछि उद्धारमा जाने क्रममा गोइरी जिउलामै घाइते भएका थिए । मोटरसाइकलमा जादै गर्दा माथिबाट पहिरो खस्दा उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेत पठाइएको थियो ।